Logo

आलोपालो प्रधानमन्त्री बन्ने सहमति थियो भने उहाँहरुको कुरा हो- टोेपबहादुर रायमाझी



काठमाडौं, ११ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले एमसीसीबारे पार्टीभित्र छलफल भएर टुंगो लाग्ने बताएका छन् । उनले पार्टीमा बहस र छलफल भएपनि आरोप प्रत्यारोप नभएको बताएका छन् । जारी स्थायी समिति बैठकको विषयबारे उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
नेकपाको स्थायी समिति बैठक हिजोबाट सुरु भएको छ, दुई अध्यक्षबीच कटाक्ष, आक्रोश र आरोप्रत्योरोप किन भयो ?
हाम्रो पार्टीभित्र कटाक्षभन्दा पनि अहिलेको राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक समसायिक परिस्थितिको बारेमा उहाँहरुले आ–आफ्नो धारणा राख्नुभएको हो । तर, एकआपसमा कटाक्ष, आरोप प्रत्यारोप भन्ने कुरामा सत्यता छैन ।
तर, प्रधानमन्त्रीले पार्टीभित्रैबाट अनावश्यक गुट खडा गरेर घेराबन्दी गर्ने काम भयो भन्नुभएको छ नि ?
त्यसरी बढाइचढाई कुरा गर्नेहुँदैन । सरकारले जति काम गरेको छ । यद्यपि सबै राम्रा नहुन सक्छन् । तर, जति राम्रो काम भएका छन् । त्यसप्रति जति पार्टी, नेता, कार्यकर्ताहरुबाट समर्थन हुन्छ त्यो अलि कम भयो कि भनेर नियमन गर्ने कुरा थियो । त्यसलाई हामीले अन्यथा ठान्नुहुँदैन । कमीकमजोरी भएको पनि हुन सक्छ ।
प्रधानमन्त्रीले बिग्रिएका खाल्डाखुल्डी पुरिसकेँ भन्दा माधव नेपालले कहाँकहाँ के के गर्नुभयो बताउनुहोस् आफ्नो बखान नगर्नुस् भन्नुभयो नि ?
विगतको सरकारहरुले गरेको भन्दा धेरै राम्रो काम भएको छ । ती चाहे, हाइवेय होस्, चाहे सिंगल लेनका बाटो होस्, चाहे फोर लेनको बाटो होस् । अहिले आठ लेनसम्मका बाटाहरु धमाधम बनिरहेका छन् । अन्य कामको लागि जस्तै काठमाडौंभित्रको धुलो, हिलो, कम भएको छ । फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालबाट सरकारलाई राम्रै सहयोग समर्थन छ त ।
स्थाायी समिति बैठकमा सरकार भ्रष्टाचारमा लिप्त भएको कुरा छताछुल्ला भयो नि ?
यस्तो भ्रष्टाचार भयो भनेर कुनै नेताहरु बोलेका छन् ?
त्यहाँ आरोपप्रत्यारोप सुरु भएको तपाईंले त देख्नुभयो नि ?
मुख्यगरी दुई अध्यक्षहरुले आफ्ना आफ्ना धाराणाहरु राख्नुभयो । त्यो राख्ने क्रममा जति पनि भ्रष्टाचारका कुराहरु बाहिर आएको छन् । त्यसमा केपी ओलीले नै गरे भनेर कसैले भनेको छैंन । कतिपय ठाउँमा भ्रष्टाचार भए भनेर मिडियाहरुमा आएका छन् । त्यसको बारेमा पनि भोलि कुरा उठ्छ । विभिन्न साथीहरुले पनि कुरा उठाइरहेका छन् । विरोधीहरुले त झन् उठाउने नै भइगए । मिडियामा आइसकेपछि त्यो के भनेर प्रश्न उठ्नु स्वाभाविक हो ।
स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको कुरा आयो, पार्टी र सरकार पनि स्वच्छाचारी ढंगले चलाउनुभयो भन्ने प्रचण्डको पनि प्रधानमन्त्रीमाथि आरोप छ नि ?
सरकारमा बसेका प्रधानमन्त्री, मन्त्री र सांसद्हरुलाई जनअपेक्षा अनुसार काम गर्न नसकेपछि गुनासाहरु त आइहाल्छ नि । त्यसलाई ठूलो विषयवस्तु बनाउनुहुँदैन । यो कम्युनिस्ट पार्टीलाई हामीले विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्ने हो । त्यसको लागि पार्टीभित्र गम्भीर रुपमा छलफल गर्नुपर्ने हो । त्यसबाट पार्टीभित्र कहाँ कहाँ गल्तीकमीकमजोरी भए । पार्टीबाहिर पनि जुन राम्रो काम भइरहेको छ । त्यसलाई सहयोग र समर्थन गरेर अगाडि जानुपर्ने विधि हुनुपर्ने हो । त्यो नगरेर भित्र बाहिर छलफल बिना काम गर्ने प्रचलन भइराखेको छ । यसले नियन्त्रणमुखी भएको जस्तो लाग्छ ।
केही व्यापारी घरानाहरुको साँठगाठमा सरकारले काम गरिरहेको छ भन्छन् नि सही हो ?
यस्तो कुरा बाहिर आएका छन् । त्यस्ता हल्लाहरु असत्य कुरा हुन् कि, हावादारी कुरा हुन् कि । त्यसको बारेमा पार्टीभित्र छलफल र बहस हुन्छ । त्यसभित्र गल्ती भएका छन् भने त्यसलाई समाधान गर्ने । अब जहाँसम्म छ प्रसंसा र आलोचनाका कुरा । केपी ओलीजी, प्रचण्डजीका राम्रा कामको प्रसंसा गर्छु । नराम्रा कामको आलोचना पनि गर्दछु । तर, म बाहिर हल्ला गरेर यो भएन ऊ भएन भनेर निहुँ खोज्दै हिड्दिनँ । ती कमीकमजोरीहरुलाई विधिसम्मत ढंगले पार्टीभित्रै राख्छु । त्यसकारणले पनि तपाईंलाई त्यस्तो भ्रम परेको होला ।
तपाईंले केपी शर्मा ओलाीको विरोध गरेर मात्रै समस्या समाधान हुँदैन भन्नुभएको थियो नि ?
बाहिरै विरोध गर्नेभन्दा पनि पार्टीभित्र केही कमीकमजोरी भएका कुराहरु यदि सत्य, तथ्य आए भने गम्भीर रुपमा केपीजीका वा सरकारमा बस्ने अन्य मन्त्रीहरुका, अथवा नेताहरु पनि कमीकमजोरी छन् भने त्यसलाई त करेक्सन गर्नुपर्छ । अहिले समाजमा कस्तो देखाप¥यो भने सत्य, तथ्य कुरा नबुझ्ने । कसैको पनि विरोध गर्ने या समर्थन गर्ने आधारमा अलि तथ्यहरु राखेर उठाउनुपर्ने हो । तर, त्यस्तै अभ्यासै छैन ।
स्वास्थ्य सामाग्री खरिदमा ओम्नीसँग सम्झौता गर्दा पार्टीलाई धेरै घाटा भयो भनिएको छ, त्यसले पार्टी र सरकारको आलोचना भयो नि ?
त्यस्ता प्रश्नहरु प्रतिक्षबाट, अन्यत्र पार्टीका कार्यकर्ताहरु र पार्टीकै पनि केही नेताहरुबाट आउन सक्छन् । त्यसलाई गम्भीर रुपमा पार्टीभित्र सबै विषयमा छलफल गर्छौैं । सत्य, तथ्यहरु के के हुन् ? किन यस्ता प्रश्न उठे त्यो त छलफल भइहाल्छ नि ।
यसले त नेताहरुमा गम्भीर रुपमा प्रश्न उठ्यो नि ?
यसमा हामीले समग्रमा कुरा गर्नुपर्छ । कुनै एउटा व्यक्तिलाई मात्रै दोष दिनुहुँदैन । व्यक्तिको भूमिका त हुन्छ । व्यक्तिले पनि त्यसको जिम्मेवारी त लिनुपर्छ । त्योभन्दा ठूलो कुरा समग्रमा हामीले अहिले राष्ट्र र जनताका आवश्यकता के हुन् ? यो पुरानो प्रकारको सरकार हो कि ? विभिन्न प्रकारको सरकार हो । हिजोको अन्तरिम, संक्रमणकालीन सरकार हो कि यो नयाँ परिवेश, नयाँ व्यवस्था, नयाँ विकास र समृटिको एजेन्डासहितको नयाँ ढंगको सरकार हो ? अहिलेको सरकार विलकुल पुरानो निरन्तरता बोकेको होइन । जनताको अपेक्षा यो सरकारसँग धेरै छन् । दुई तिहाईको नजिकको सरकार भएकाले धेरै काम गर्न सक्छ । पुरानो सरकारको निरन्तरतालाई हेर्ने हो भने धेरै काम गरेको छ । अहिलेको जनचाहनाअनुसार भएको छैन । त्यहीनेर अन्तरविरोध भइराखेको छ ।
प्रचण्डले त सरकारको नेतृत्व आलोपालोबाट गर्ने भन्ने पूर्व सहमति बाट पछि हट्दा मलाई घाटा भयो भन्नुभयो नि ?
त्यो त उहाँहरुको कुरा हो । यदि त्यस्तो सहमति भएको छ भने पार्टीभित्र छलफलमा राख्नुपर्छ । बाहिर हल्ला गरेर समस्या समाधान हुँदैन नि ।
प्रचण्डले त प्रष्ट रुपमा हिजो सरकारको नेतृत्व आलोपालोमा गर्ने सहमति भएको हो, तर त्यो छाड्दा घाटा भायो, भन्नुभयो नि ?
पार्टीका नेताहरुबीचमा विभिन्न प्रकारका कुरा, विचार, योजना, कार्यक्रम र आफ्ना धारणाहरु हुन्छन् । ती विषयहरुलाई पार्टीभित्र गम्भीर छलफल गरेर समाधानतिर लाग्नुपर्छ ।
प्रचण्डले त प्रधानमन्त्रीमा आफ्नै दम्भ छ, अरुका विचारहरु सुन्नुहुन्न भन्नुभएको छ नि ?
उहाँले के भन्नुभयो, कसो भन्नुभयो भन्ने कतिपय कुराहरु राखेको हुन्छ । त्यसलाई फेरि बढाइचढाइ गरेर बाहिर आएका हुन्छन् । ती विषयवस्तुलाई पनि मिडियाहरुले हालिरहेका हुन्छन् । त्यसैले कतिपय कुरा सत्य पनि हुन सक्छन् । कतिपय कुराहरु बढाइचढाई पनि हुन्छन् ।
माधवकुमार नेपालले त प्रधानमन्त्रीलाई तपाईंं खाल्टाखुल्टी पुरेँ भन्नुभयो, साँखु गएर हेर्नुहोस् के के भएको छ, भनेर ठाडै चुनौति नै दिनुभयो नि ?
त्यो कुरा मैले अगाडि नै भनिसकेको छु । यस्ता विषयवस्तुलाई समग्रमा राखेर हेर्नुपर्छ । सरकारले गरेका कतिपय राम्रा कामहरुमा स्वागत गर्नुपर्छ । त्यसको जनताले पनि महसुस गरेका छन् । मिडियाहरुले पनि महसुस गरेका छन्, सम्मान गरेका छन् । केही ठाउँमा कमीकमजोरी छन्, काम रोकिएका छन् भने फेरि अगाडि बढिहाल्छ नि । अहिले काठमाडौंमा धेरै सुधार भएर गइराखेका छन् । फेरि कतिपय ठाउँमा कमीकमजोरी भएका कुरा उठेका छन् भने त्यसलाई अस्वीकार गर्नुपर्ने कुरै छैन । माधव नेपालले भन्नुभएको छ भने ती काम पनि पुरा हुन्छन् । अहिले नै किन आत्तिनुप¥यो ।
एमसीसीको बारेमा पार्टीभित्रको विवाद कसरी मिल्छ ?
एमसीसीका विषयमा पार्टीभित्र, बाहिर र जनस्तरमा पनि व्यापक रुपमा छलफल भयो । अब जे गरिन्छ त्यसलाई फेरि पार्टीभित्र छलफल गरेर विवाद गरिरहने कुरा छैन । अब त्यसलाई राष्ट्र, राष्ट्रियता र अखण्डतालाई केन्द्रमा राखेर गम्भीर रुपमा छलफल गरेर निष्कर्ष निस्कन्छ ।
त्यसोभए एमसीसी पारित हुन्छ, अन्तर्राष्ट्रिय दातृ निकायबाट व्यापक रुपमा चासो छ नि ?
अन्तर्राष्ट्रिय दातृ निकायबाट व्यापक रुपमा चासो निन्ताहरु हुन्छन् त्यो उहाँहरुको हो । तर, हाम्रो विषय भनेको त्यसलाई व्यापक रुपमा छलफल गरेर मात्रै निष्कर्ष निकाल्ने कुरा हो । त्यसकारण एमसीसीको विषयमा अहिले मैले पास हुँदैन भनौला पास होला, हुन्छ भनौला नहोला त्यसैले अहिले नै म भन्न सक्ने अवस्थामा छैन । किन भने त्यो अभैm छलफलमै छ ।
एमसीसी आज यो देशको हितमा छ कि छैन ?
मेरा विचारहरु मैले पार्टीभित्र राख्छु । त्यसपछि जे निष्कर्ष आउँछ त्यसलाई भन्छु ।
होइन प्रचण्डले पारित हुँदैन भन्नुभयो तर प्रधानमन्त्रीले त म जसरी पारित गराउँछु भन्नुभयो नि ?
उहाँहरुले के के भन्नुहुन्छ भनेर म त्यसको पछि लाग्दिँन । मेरा पनि त आफ्ना विचारहरु हुन्छन् नि ।
तपाईंको विचार नेपाली जनतालाई भन्नुस्न त जनता जान्न चाहन्छन् ?
म नेपाली जनतालाई भन्छु । एमसीसीको विषयमा गम्भीर छु । मैले पनि आफ्ना विचारहरु पार्टीभित्र राखेको छु । मुख्य कुरा के छ भने नेताहरुले पार्टीभित्रका कुराहरु बाहिरै छताछुल्ला पार्ने हिसाबले अलिकति विवाद देखिएको छ । त्यसमा आफ्ना विचारहरु भित्र राख्ने र निर्णयको कुराहरुलाई बाहिर लिएर जाने गर्नुपर्ने हो । त्यो नगरेर आफ्ना विचारहरु छताछुल्ला हुने गरी बाहिर राख्दा तानातान भएर कुनै निष्कर्ष ननिस्कने स्थिति आइरहेको छ । त्यसको हामीले अन्त्य गर्नुपर्ने छ ।
यसमा तपाईंहरुको संस्थागत निर्णय कहिले आउँछ ?
स्थायी समितिको बैठक अझै दुई, चार दिन चल्छ त्यसपछि एउटा निष्कर्ष बाहिर आउँछ ।
त्यसोभए एसमा जान्छ कि नोमा जान्छ त ?
खोई के जान्छ त्यो पार्टीले निर्णय गर्ने कुरा हो । मैले मात्रै भनेर हुँदैन ।
झलनाथ खनालको प्रतिवेदन अनुसार जान्छ कि प्रदीप ज्ञवालीको चाहनाअनुसार जान्छ त ?
मैले कसैको पक्ष लिएर झलनाथजीको प्रतिवेदन ठीक छ अथवा प्रदीप ज्ञवालीको चाहना ठीक भन्नलाई मेरो पनि आफ्नो विवेक छ नि । त्यो म पनि राख्छु । यसमा एमसीसी मात्रै कोइन थुप्रै दातृ निकायबाट आएका सहयोगहरु चाहे एमसीसी, चाहे विआरआई, ओडिवी, चाहे ओल्ड बैंक, डीएआफआई या जाइका भन्नुहोस् । संसारका जतिपनि मुलुकबाट हामीलाई भएका सहयोगहरुका सम्झौताहरु मैले पनि हेरिरहेको छु । त्यसका अन्तरहरु के छन् सबै आफू पनि हेरिरहेको छु र अरुलाई पनि हेर्नको लागि आग्रह गरिरहेको छु । हामीले हेर्दा एमसीसी मात्रै होइन संसारका सबै मुलुकहरुसँग भएका सहयोग सम्झौताहरु हेर्नुपर्छ ।
त्यसोभए एमसीसी राष्ट्रघाती होइन देशको आवश्यकता हो ?
होइन म त्यतातिर गएकै छैन । अहिले नै व्यक्तिगत कुरा राखेर यसमा म विवादमा आउन चाहन्न ।
प्रधानमन्त्री विकल्प खोज्ने बेला पार्टीभित्र भएको छैन ?
यसमा पनि मेरो व्यक्तिगत विचारको अर्थ छैन । हामी हर विषयलाई पार्टीभित्र छलफल गछौं । त्यहाँ पार्टीको, सरकारको, कोरोनाको सबैमा व्यापक छलफल हुन्छन् । हाम्रो अन्य विभिन्न योजनाहरु छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्