Logo

नेकपामा ओलीलाई गलाउने र आत्मालोचना गराउने रणनीति, दाहाल-नेपाल एक ठाउँमा



काठमाडौं, ११ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एक ठाउँमा उभिएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । ४४ जना स्थायी समिति सदस्यमध्ये अध्यक्ष ओलीको पक्षमा १३ जना मात्र छन् । त्यसैगरी, अर्का अध्यक्ष दाहालको पक्षमा १८ र नेता नेपालको पक्षमा १३ जना छन् । ४५ सदस्यीय स्थायी समितिमा अग्नी प्रसाद सापकोटा सभामुख भएका कारण उनी स्थायी समितिको बैठकमा सहभागी हुँदैनन् ।

छ महिनापछि हिजो (बुधबार) बसेको स्थायी समितिको बैठकको शुरुमा नै शीर्ष नेताहरुबीच चर्काचर्की भएको थियो। बैठक शुक्रबार फेरि बस्दैछ। यस पटकको बैठक विगतको तुलनामा अलिक भिन्न हुने लक्षण देखिएको छ।

प्रधानमन्त्री ओली एमसीसी संसदबाट पारित गराउनका लागि स्थायी समितिको बैठकबाट जसरी पनि निर्णय गराउने पक्षमा छन् । तर, उनका लागि यति सजिलै यो निर्णय हुने संभावना देखिँदैन् । स्थायी समितिमा अध्यक्ष दाहाल र माधव नेपाल पक्षमा ३१ सदस्य देखिएका छन् । यद्यपी नेपाल पक्षधर मानिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुषालको भूमिका मध्यमार्गी हुने छ। यदि उनीहरु मध्यमार्गी भएर नै बसे भने पनि दाहाल-नेपालको पक्षमा २९ स्थायी समिति सदस्य हुनेछन् ।

सरकारको काम प्रभावकारी नभएको, पार्टीमा संस्थागत निर्णय नहुने गरेको, विधि र पद्धतिविपरित पार्टी संचालन गरेको आरोप ओलीमाथि छ। यसकारण पनि दाहाल-नेपाल उधारो सहमति गर्ने मुडमा देखिएका छैनन् । स्रोतका अनुसार दाहाल र नेपालले पार्टीमा ‘एक व्यक्ति, एक पद’को अडान नछाड्ने भएका छन् । यसो हुँदा प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद त्याग्नुपर्ने दबाब बढेको छ। स्रोतका अनुसार दाहाल-नेपालले ओलीले विगतमा गरेका गल्तीको आत्मालोचना गर्नुपर्ने माग बैठकमा उठाउने भएका छन् ।

नेकपामा यस्तो छ पछिल्लो समीकरण

ओली समूह :

१ केपी शर्मा ओली २. ईश्वर पोखरेल ३. विष्णु पौडेल ४. शङ्कर पोखरेल ५. सुवास नेम्वाङ ६. किरण गुरुङ ७. पृथ्वीसुब्बा गुरुङ ८. सत्यनारायण मण्डल ९. छविलाल विश्वकर्मा १०. प्रदीपकुमार ज्ञवाली ११. विष्णु रिमाल १२. वामदेव गौतम १३. रघुवीर महासेठ

प्रचण्ड समूह: 

१.  पुष्पकमल दाहाल (प्रचण्ड) २. नारायणकाजी श्रेष्ठ ३. रामबहादुर थापा ४. गणेश साह ५. गिरिराजमणि पोखरेल ६. चक्रपाणि खनाल ७. जनार्दन शर्मा ८. टोपबहादुर रायमाझी ९. देवेन्द्र पौडेल १०. देव गुरुङ ११. पम्फा भुसाल १२. वर्षमान पुन १३. मणि थापा १४. मातृका यादव १५. शक्ति बस्नेत १६. हरिबोल गजुरेल १७. लिलामणि पोखरेल १८. लेखराज भट्ट

नेपाल–खनाल समूह :

१. झलनाथ खनाल २. माधवकुमार नेपाल ३. अष्टलक्ष्मी शाक्य ४. युवराज ज्ञवाली ५. भीम रावल ६. घनश्याम भुसाल ७. रघुजी पन्त ८. वेदुराम भुसाल ९. सुरेन्द्र पाण्डे १०. मुकुन्द न्यौपाने ११. योगेश भट्टराई १२. गोकर्ण विष्ट १३. भीमप्रसाद आचार्य

तस्विर : प्रधानमन्त्री ओलीको सचिवालय /Social Media-Facebook



प्रतिक्रिया दिनुहोस्