चाबाहिल-साँखु सडकखण्डमा राजनीति !


असार ११, काठमाण्डौ । काठमाडौं उपत्यकाका धेरै सडक अलपत्र हुँदा सर्वसाधारण पानी पर्दा हिलो र घाम लाग्दा धुलोसँग दैनिक जुधिरहेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने विकास निर्माणका कामले फड्को मारेको दाबी गर्न छाडेका छैनन् ।

करिब ६ महिनापछि बसेको नेकपा स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले सरकारले सडक निर्माणमा ऐतिहासिक काम गरेको दावी गर्दै गर्दा बरिष्ठ नेता माधवकुमार नेपालले सडकको दुरावस्था हुँदा हुँदै पनि अनावश्य गफ मात्रै गरेको भन्दै आपत्ती जनाए । नेपालले प्रधानमन्त्री ओलीलाई भन्दै थिए-सडकको दुरावस्था हेर्न साँखु सडक खण्डमा पुग्नुहोस् ।

२०७५ साउन २४ गते तत्कालिन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ सहित सडक अनुगमन गर्न पुगेका नेपाललाई चावहिल साखुँ सडक खण्डका स्थानियले समयमै सडक सम्पन्न गरिदिन आग्रह गरेका थिए । यो विचमा मन्त्री महासेठले मन्त्री पद बाट हात धोए र वसन्त नेम्वाङ भौतीक पुर्वाधार तथा यातायात मन्त्री भए लगतै करिब ६ महिना अघि फेरि नेपालले नवनियुक्त मन्त्री नेम्वाङ सहित चावेल साखुँ सडक खण्डको अनुगमनमा निस्कीए । तर स्थानीयले मन्त्रीहरुलाई घेदै आक्रोश पोखे ।

१२ किलोमिटर यो सडक खण्डको पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले मात्रै सात पटक भन्दाबढी अनुगमन गरिसकेका छन । २०७२ असोज १३ गते ठेक्का सम्झौता भएको यो सडक २०७४ चैत्र सम्ममा निमार्ण सम्पन्न हुनुपर्ने थियो । तर, अहिलेसम्म ६५ प्रतिशत मात्र काम पूरा भएको छ । बुधवारको स्थायी कमिटको बैठकमा नेपालले प्रधानमन्त्री ओलीलाई दिएको चुनौतीले प्रष्ट पार्छ पाँच वर्ष बित्न लागीसक्दा समेत १२ किलोमिटर सडक कसका कारण बनेन । मापदण्डका कारण विवादमा फसेको चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाइ हुँदा यो सडक खण्डमा यात्रा गर्नेहरुले सास्ती खेपिरएका छन ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ मै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने योजना अघि बढाएको थियो । तर, सडक विस्तारका क्रममा मुआब्जा विवाद र सर्वोच्चको आदेशपछि यो सडक अलपत्र छ । सरकारले यथास्थितिमै सडक पिच गर्न निर्देशन दिएपनि स्थानीय तहका जनप्रतिनिधिको अवरोधले सडक निर्माणले गति लिन सकेन । जसका कारण विकासको फड्को मारेको दावी गर्ने प्रधानमन्त्री ओली वास्तविक अवस्था नबुझ्दा फेरि बोलीमा चुकेका छन् ।