पुटिनलाई थप १२ वर्ष शाषन चलाउने अवसर प्राप्त


असार १२, एजेन्सी । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउने गरी जनमत आएको छ । झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनेछन् ।

पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो । नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ । संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याएका थिए । त्यस प्रस्तावमा अहिले मात्रै मतदान भएको हो ।

मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ । प्रत्येक कार्यकाल ६ वर्षको हुने भएकाले उनले अर्को १२ बर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलेको छ । राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो ।

तर संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप ६ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल अब सन् २०३६ सम्म सुनिश्चत भएको हो । ६७ वर्षिय पुटिनले रुसमा गत दुई दशकदेखि शासन गर्दै आइरहेका छन् ।