Logo

प्रधानमन्त्री ओली यसरी परे चौतर्फी घेराबन्दीमा



काठमाडौ, १२ असार । २०७५ साल जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र माओवादीबीच एकीकरणको हस्ताक्षर हुँदा राष्ट्रिय सभागृहमा सजाईएको मंचको पछिल्लो भागमा बसेका थिए नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल। त्यस दिनको दृष्य हेर्दा लाग्थ्यो अब नेकपाको बागडोर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातमा छ। ओलीले घोषणा गरेका थिए-जेट हाँक्न दुईजना पाईलट अर्थात अध्यक्ष चाहिन्छ।

लामो समय दुई अध्यक्षको तजबीजमा चल्यो नेकपा। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच यस्तो प्रेम चल्यो कि अब यी दुईलाई कसैले पनि अलग गराउन सक्दैन। कतिपयले त्यसबेला दुई अध्यक्षले पार्टी चलाएको देखेर टिप्पणी गरेका थिए-‘पार्टी विधान अनुसार चलेको छैन, कमसेकम कम्पनी ऐन अनुसार चले पनि त हुन्थ्यो।’ यसको सिधै अर्थ थियो नेकपा ओली-दाहालको जस्तो मात्र भएको छ।

ओली-दाहाल नजिकिएपछि टाढिन पुगेका माधब नेपालले दाहालप्रति आक्रोश पोख्दै भनेका थिए-‘उनी ओलीको एसम्यान रहेछन् ।’ केही समय यस्तो दृष्य समेत नदेखिएको होइन नेकपामा ।

पछिल्लो समयमा ओली-दाहालबीच मनमुटाव बढ्दै गयो। माईन्यूटमा कार्यकारी अध्यक्ष प्रचण्डलाई दिने र ५ बर्ष ओली प्रधानमन्त्री हुने तमसुक ओलीका लागि मात्र थियो। त्यसपछि ओली नगद प्रधानमन्त्री भए भने प्रचण्डको कार्यकारी अध्यक्ष उधारो रह्यो। त्यसपछि प्रचण्ड विस्तारै माधव नेपालतर्फ नजिक हुन थाले। ओली-दाहालको पेलाईबाट झण्डै चिउरा जस्ता बनेका नेपालका लागि यो एउटा राहत थियो। नेपालले ओलीको ज्यादतीविरुद्ध बदला लिन मौकाका रुपमा यसलाई उपयोग गर्न थाले। नेपाल र प्रचण्ड मिल्दा पार्टीका जुनसुकै कमिटीमा पनि प्रचण्ड बहुमत पुग्दछ। त्यसपछि शुरु भयो ओलीविरुद्धको घेरावन्दी ।

ओलीविरुद्ध दाहाल-नेपालको मोर्चा बन्न थालेपछि ओलीनिकटका केही नेताहरुले नेपाललाई फकाउन ओलीलाई सुुझाव दिएका थिए। ओलीले यो प्रयास नगरेका पनि होइनन् । तर नेपाल निकै पर पुगी सकेका थिए। नेपालाई पनि ओलीसंग मिल्न आफु निकट नेताहरुले नसुझाएको होइनन् । तर ओली-दाहाल मिलेर नेपाल पक्षमाथि गरेको ज्यादतीको तीतो उनको भोगाईबाट हटेको थिएन।

ओलीलाई साथ दिँदै आएका उपाध्यक्ष वामदेव गौतम पनि निकै टाढा छन् । यसको एकमात्र कारण पनि ओलीनै हुन। नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गर्यो। तर ओलीले त्यसलाई मानेनन् । त्यसकारण ओलीसंग साथ नफर्कने गरी गौतम पनि दाहाल-नेपाल क्यम्पमा पुगे।

नेकपा स्थायी समितिको बैठक बुधबारदेखि जारी छ। प्रधानमन्त्री ओलीले दाहाल-नेपालसंग कुनै न कुनै सम्झौता नगरी संकटबाट पार पाउने संभावना देखिँदैन्। बैठकको एउटा महत्वपूर्ण एजेण्डा अमेरिकन परियोजना एमसीसी छलफलमा छ। संसदबाट यसलाई पारित गराउन सरकालाई उतिकै दबाब छ। असार १६ गते संसदबाट यसलाई पारित गराउनु पर्ने थियो । तर, सभामुख अग्नीप्रसाद सापकोटाले असार १७ का लागि मात्र बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले यसलाई आफुविरुद्धको अर्को घेरावन्दीका रुपमा लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्