Logo

चीन र भारत एक-अर्कालाई घेराबन्दीमा पार्दै, नेपालमा कस्तो प्रभाव



रिपोर्टर्स नेपाल विश्लेषण । चीन र भारतबीच कुनैपनि बेला युद्धको सम्भावना बढेर गएको छ । लद्दाखमा झडपका रुपमा ४५ वर्षपछि देखिएको द्वन्द्व तत्कालको मात्र कारण होइन । यसका पछाडि दुई देशबीचको भुमिका मात्र नभई बाह्य शक्तिको चासोले पनि भुमिका खेलेको छ ।

भारतलाई चीनले वर्षौं लगाएर घेराबन्दीमा पारेको घटनाक्रमले देखाएको छ । भारतको सबैभन्दा चीसो सम्बन्ध भएको पाकिस्तानमा चीनको प्रभाव बढेको थियो । कुनैबेला अमेरिकाको प्रभावमा रहेको पाकिस्तान अल कायदा नेता बिन लादेन अबोटावादमा मारिएपछि भएको हो । अमेरिकाले आतंकवादविरुद्ध दिदै आएको सैन्य सहयोग रोकिदियो । त्यसपछि पाकिस्तान चीनसँग बढी नजिकियो ।

चीनले भारतका छिमेकी देशहरु नेपालसहित, बँगलादेश, श्रीलंका, भुटान र मालदिभ्समा समेत प्रभाव बढाउँदै लग्यो । श्रीलंकामा पहिलोपटक चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण भयो । नेपालमा पनि दुई दशकपछि चीनका राष्ट्रपतिले भ्रमण गरे । यो आफैमा एउटा सन्देश थियो । त्यसबाहेक पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी निकै बढ्यो । मालदिभ्सको समुन्द्रमाथिको पुल र श्रीलंकाको बन्दरगाह निर्माणमा चिनियाँ कम्पनि पुग्यो । नेपालमा पनि पूर्वाधार निर्माणका क्षेत्रमा चिनियाँ कम्पनिहरु आए ।

नेपालको राजनीतिमा चीनको प्रभाव बढ्दै गएको पछिल्लो समय चिनियाँ राजदुत होउ यान्छीको राजनीतिक दौडधुपबाट प्रष्ट भयो । यो चिनियाँ राजदुतबाट पहिलोपटक खुलेआमा राजनीतिक सक्रियता थियो । यसबाहेक शिक्षा क्षेत्रमा चिनियाँ उपस्थिति बढ्यो । विद्यालयहरुमा चिनियाँ भाषा अध्यापन गराउने चिनियाँ शिक्षकहरु पुग्न थाले । कानुनसँग बाझिने गरी भएको यो क्रियाकलापमा सरकार नै मौन बस्यो । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चिनियाँ भाषा सिकाउने नाममा नेपालमा चीनको सेना पसिसकेको सार्वजनिक रुपमा बोले ।
नेपाल कम्युनिस्ट पार्टीभित्र चीनको प्रभाव खुलेआमा देखियो । चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई नियमित प्रशिक्षण दिन थाले । प्रशिक्षण लिने र चीन घुम्न जान नेताहरुबीच तछाडमछाड नै भयो । यतिसम्मकी दुई दलबीच नियमित भिडियो कन्फरेन्समार्फत छलफल समेत बाक्लो हुन थालेको छ ।

भारतको परम्परागत मित्र शक्ति, तीनतर्फ घेरिएको नेपाल नै चीनसँग नजिकिएपछि भारत अप्ठ्यारोमा पर्यो । अहिले बँगलादेशलाई पनि चीनले आफ्नो नजिक बनाइसकेको भारतीय मिडियाले नै लेखेका छन् । दक्षिण एशियामा यसरी भारतलाई चीनले घेरा हाल्यो ।
भारतले पनि दक्षिणपूर्वी एशियामा आफ्नो प्रभाव बढाउँदै लगेको छ । साउद चाइना सीको विवादमा चीनसँग उसका छिमेकहरु असन्तुष्ट छन् । जापान, फिलिपिन्स, सिंगापुर, मलेशिया, इन्डोनेशिया, भियतनामलगायतका देशहरु चीनले साउथ चाइना सीको स्रोतले सम्पन्न टापुहरुमा कब्जा जमाएको भन्दै असन्तुष्ट भएका हुन् । यसमा अमेरिकाको मात्र नभई भारतको पनि चासो छ । भारतले चीनका छिमेकी देशहरुमा त्यसरी नै भुमिका बढाइरहेको छ जसरी चीनले भारतका छिमेकी देशहरुमा आफ्नो भुमिका बढाउँदै लगेको छ । अर्कोतर्फ, साउथ चाइना सीमा अमेरिकी उपस्थिति पनि बढ्दो छ । अमेरिकाले चीनलाई साउथ चाइना सीकै विषय उठान गरी घेराबन्दीमा पारिरहेको छ ।

अहिले अमेरिका र चीनबीच तिव्र प्रतिष्पर्धा चलिरहेको छ । चीनको बढ्दो शक्ति र प्रभावलाई रोक्न एशियामा अमेरिकाका लागि भारत सबैभन्दा नजिकको मित्र शक्ति हो । भारतलाई पनि चीनलाई क्षेत्रीय राजनीतिमा रोक्न सहयोगी शक्तिको खाँचो छ । यो घटनाले चीनको बढ्दो शक्तिलाई रोक्न अमेरिकाका लागि भारत नै सबैभन्दा सहयोगी बन्न सक्छ । त्यसैले पश्चिमाहरु भारतबाट धेरै आशा गर्न थालेका छन् ।
अमेरिका र चीनबीचको बढ्दो द्वन्द्वका कारण भारत कुनै न कुनै रुपले प्रभावित भइरहेको छ । भारतको आफ्नै महत्वाकांक्षा पनि छ ।

एकातर्फ चीनसँगको ठुलो व्यापार अर्कोतर्फ क्षेत्रीय राजनीतिमा उसको बढ्दो चुनौती सामना गर्नुपर्ने अवस्था छ । क्षेत्रीय राजनीतिमा चीनको बढ्दो प्रभावको कुनै हालतमा सामना गरेर पछि हट्न वाध्य पार्न भारत सक्रिय भइरहेको छ । यो रस्साकस्सीले सिमाहरुमा तनाव बढाउँदै लगेको छ । यसले खतरनाक अवस्था पनि पैदा गर्न सक्छ । यदि यी दुई देशबीच युद्ध भइहालेमा क्षेत्रीय राजनीतिमै उथलपुथलको सम्भावना छ । यसको मुल्य यी दुई देशले मात्र नभई छिमेकी देशहरु झन् बढी चुकाउनुपर्ने हुनसक्छ एशियाका यी दुवै उदयीमान शक्तिहरुले युद्धबाट ठुलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ जसका कारण विश्व महाशक्ति बन्ने महत्वाकांक्षा असफल हुनसक्छ । यसलाई मनन गरेर चीन र भारत कुनै न कुनै सहमतिको बिन्दुमा पुगेर यथास्थितिमा अड्ने सम्भावना बढी हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्