Logo

अध्यक्षले बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट पारित



भद्रपुर, १२ असार : झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले आज पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७÷०७८ का लागि रु २९ करोड ६४ लाख ७३ हजारको वार्षिक बजेट पारित भएको जानकारी दिनुभयो ।

उहाँले यही असार १० गते गाउँपालिकाको सभाहलमा सातौं गाउँसभा शुरु भएलगत्तै अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन सभा छाडेर बाहिरिनुभएपछि गाउँसभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा १६ को उपदफा ५ बमोजिम आफूले सभाको अध्यक्षता गरेको बताउनुभयो । उपाध्यक्षकै अध्यक्षतामा सञ्चालित सो सभाले गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम बहुमतका आधारमा पारित गरेको थियो ।

गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले सभा चलिरहेका अवस्थामा अध्यक्षले सभा छाडेर हिँडेमा उपाध्यक्षले स्वतः अध्यक्षता गर्ने कानूनी व्यवस्था रहेको जनाउँदै सोही अधिकार प्रयोग गरी उपाध्यक्ष गिरीको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित गर्नुपरेको बताउनुभयो । गाउँकार्यपालिकाले वडागत बजेट वितरणमा बहुमतका आधारमा पेलेर समानुपातिक नीति नअपनाएको र जलथल पर्यटकीय सडकको नामकरणमा कम्युनिस्ट नेता द्रोणप्रसाद आचार्यको नाम राखेका विषयमा अध्यक्ष लिङ्देनले असहमति राख्दै आउनुभएको थियो । सोही कारण सभामा नेकपा पक्षबाट हातपात भएको जिकिर गर्दै अध्यक्ष लिङ्देनले सभाबाट बाहिरिनुपरेको बताउँदै आउनु भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष गिरीले सभामा अध्यक्षमाथि कसैबाट हातपात नभएको र उहाँ आफैँले कार्यकर्तालाई बोलाई सभाकक्षमा तोडफोड गराउनु भएको आरोप लगाउनुभयो । हल्दिबारी गाउँपालिकामा अध्यक्षमा लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तथा उपाध्यक्ष गिरी तत्कालीन नेकपा (एमाले)का तर्फबाट निर्वाचित हुनुभएको थियो । पालिकाको कूल २९ सदस्यीय गाउँपरिषद्मा २२ जना नेकपा, ६ जना राप्रपा र एक जना नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ । परिषद्मा नेकपाको दुई तिहाइ बहुमत छ ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्