Logo

मंगोलियामा सत्तारुढ मंगोलियन पिपुल्स पार्टी विजयी



१२ असार : मंगोलियाको निर्वाचन आयोगले सत्तारुढ मंगोलियन पिपुल्स पार्टीले अत्यधिक बहुमत सहित संसदीय निर्वाचनमा विजयी भएको जनाएको छ ।

आयोगका अनुसार मंगोलियन पिपुल्स पार्टीले संसदको कूल ७६ स्थानमध्ये ६२ स्थानमा जितेको छ । सत्तारुढ दलको यो लगातार दोस्रो जित हो ।

सत्तारुढ दलले कूल खसेको मतको झण्डै आधा मत प्राप्त गरेको थियो । मंगोलियन पिपुल्स पार्टीले कोरोनाभाइरस महामारीकै बीचमा पनि गाउँगाउँमा व्यापक चुनाव प्रचार गरेको थियो ।
बुधबार सम्पन्न उक्त निर्वाचनमा मंगोलियाका करिब २० लाख मतदातामध्ये दुई तिहाईले मतदानमा भाग लिएका थिए ।

छिमेकी मुलुक चीनमा कोरोनाभाइरस देखिएलगत्तै मंगोलियाले गत जनवरीमै चीनसँगको सीमा बन्द गरेको थियो । जनसंख्या सानो भएपनि व्यापक फैलिएको बस्तीभित्र कोरोनाभाइरसको प्रसार हुन नपाएको स्वास्थ्य अधिकारीहरुको भनाई छ ।

तैपनि मंगोलियामा २१९ जनामा कोरोना संक्रमण देखिएको थियो, र यो सबै विदेशबाट आएका व्यक्तिमा देखिएको थियो ।एएफपी



प्रतिक्रिया दिनुहोस्