‘कोरोनाविरुद्ध खोप र उपचारको विकासका लागि थप ३० अर्ब डलर आवश्यक’


एजेन्सी, १२ असार । अहिलेकै रफ्तारमा कोरोना भाइरसको महामारी फैलिएमा अबको दुई दिनमै विश्वमा संक्रमित संख्या एक करोड पुग्नेछ । महामारी यसरी फैलँदैछ कि अहिलेको अवस्थालाई पहिलो लहर मात्र भनिएको छ । दोस्रो लहर आउनै बाँकी छ ।

आज विश्व स्वास्थ्य संगठनका सहायक महार्दिेशक डा. रानिरी गुयराले महामारीको दोस्रो लहर आउनै लागेको र त्यसले दशौं लाख मानिसको ज्यान जानसक्ने आँकलन गरेका छन् । उनले यसो भनिरहँदा विश्वमा कोरोना भाइरसको औषधी र खोपको विकास भइरहेको छ । तर, कहिलेसम्म औषधी र खोपको विकासमा सफलता हासिल हुने हो टुंगो छैन ।

विभिन्न देशले कोरोना भाइरसको औषधी र खोप छिट्टै ल्याउने दाबी गरेका छन् । २०२० भित्र वा २०२१ मा खोप आउने भनिएको छ । विश्वमा एक सय २० भन्दा बढी खोपको विकास भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले शुक्रबार खोलको विकास, टेष्टको थप विकास र उपचारका लागि थप ३० अर्ब डलर भन्दा बढी रकम आवश्यक रहेको भनेको छ । यति ठुलो खर्चका लागि सहयोगको आग्रह समेत गरेको छ ।

खोपको विकासका लागि ठुला व्यापारिक घराना देखि देश विशेषले समेत लगानी गरेका छन् । कतिपयले कोषमार्फत् रकम दिइरहेका छन् ।