Logo

भ्रष्टाचारमुक्त र प्राज्ञिक विश्वविद्यालय बनाउँछु : उपकुलपति सिंह



सुर्खेत, १३ असार : मध्यपश्चिम विश्वविद्यालय (एमयु) का उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त र पूर्ण प्राज्ञिक बनाउनु आफ्नो पहिलो दायित्व भएको बताएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापकहरुसँगको आजको भेटघाटमा उपकुलपति प्राडा सिंहले विश्वविद्यालयलाई भ्रष्टचारमुक्त नगराए यो गतिहीन भएर जाने बताए । विश्वविद्यालयलाई भ्रष्टाचारको दलदलमा फसाइएको तर्क गर्दै उनले विद्यमान विकृतिहरुलाई रोकेर प्राज्ञिक थलोका रुपमा विकास गर्ने बताए । उनले भने, “यसअघिका पदाधिकारीले अनधिकृत रुपमा मासिक रु ४२ हजारसम्म भत्ता बुझ्ने गरेको पाइयो । जनताको रगत पसिनाले बनेको विश्वविद्यालयमा अनियमितता रोकेर अब सार्वजनिक रुपमा लेखपरीक्षण गरिन्छ ।” बैठक, सामान खरिद, विद्यार्थी भर्ना र चन्दादाताले दिएको पैसामा पनि भ्रष्टाचार भएको भन्दै उनले यस किसिमको अनियमितता बिल्कुल हुन नदिएर विश्वविद्यालयलाई पूर्ण प्राज्ञिक र अनुसन्धामूलक गतिविधिमा अघि बढाइने बताए ।

उपकुलपति प्राडा सिंहले आफ्नो पालामा खरिद गरेका सबै आवश्यक सामग्री र हरहिसाब पदावधि पूरा गर्दा सार्वजनिक गर्ने बताउँदै यसअघिका पदाधिकारीले सामान खरिद गरेर कर्मचारीको नाममा भिडाइदिएको र कार्यकाल पूरा गरेर जाँदा सामग्री पनि लिएर गएको आरोप लगाए ।

प्रदेश सरकार, स्थानीय सरकार, केन्द्र सरकार र दातृ निकायसँग समन्वय कायम गरी यसलाई उदाहरणीय विश्वविद्यालय बनाउन पवित्र उद्देश्य लिएको भन्दै उनले यसलाई पूरा गर्न प्राध्यापक कर्मचारी सबैको सहयोग अपरिहार्य रहेको औँल्याए । योग्यता र क्षमताका आधारमा डिनलगायत पदाधिकारी नियुक्ति गर्ने, प्राध्यापक कर्मचारीको पदोन्नति, स्थायित्व र पेशागत सुरक्षाका निम्ति नीतिगत रुपमा सबैको सहकार्यमा अघि बढाइने उनको भनाइ थियो ।

केन्द्रीय र आङ्गिक क्याम्पसहरुका समस्याबारे गहन छलफल गरी प्राज्ञिक कार्य अघि बढाउँदै अनुसन्धानमा केन्द्रित गरी समुदायको अपनत्व बढ्ने कार्य गर्ने सोच बनाउनुभएका उनले भने, “अहिलेको अवस्थामा अनलाइन शिक्षालाई व्यवस्थित गर्न थालिएको छ । यसका लागि विश्वविद्यालयले आवश्यक निर्णय गरी कार्यान्वयन गर्न लागिरहेको छ ।”

उपकुलपति प्राडा सिंहले कर्णालीका जनताले विश्वविद्यालयबाट ठूलो अपेक्षा गरेको प्रस्ट्याउँदै उदाहरणीय विश्वविद्यालय निर्माण गर्ने अभियानमा गलत गर्ने जो कोहीलाई कारवाही गरिने र जनताको सपना पूरा गर्न दत्तचित्त भएर लाग्ने विश्वास दिलाए । भेटघाटमा प्राध्यापक सङ्घका पूर्व कार्यवाहक अध्यक्ष अमर रोकाय, करार प्राध्यापक सङ्घका अध्यक्ष डिबी गुरुङ, प्राध्यापकहरु लोकबहादुर ओली, खगेन्द्र अधिकारी लगायतको सहभागिता थियो ।रासस



प्रतिक्रिया दिनुहोस्