Logo

स्थायी कमिटी बैठकमा हामीले प्रधानमन्त्रीको आलोचना गरेकै छैन् : भीम रावल



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले पार्टीको जारी स्थायी कमिटीको पाँचौं बैठकमा आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना नगरेको जिकिर गरे । नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले भनेका छन्–‘त्यो बैठकमा हामीले आलोचना गरेकै छैनौं । हाम्रो उद्देश्य भनेको पार्टी कित्तामा जाओस् । विधि, प्रणालीबाट चलोस् । राष्ट्रका जल्दाबल्दा कुराहरुमा पार्टीभित्र छलफल र बहस होस् । सामूहिक निश्कर्ष निस्कियोस् । पार्टीमा पक्षपात र मनपरी नहोस् । नेपाली जनताले बडो विश्वासका साथ बहुमत दिएका छन् । भरोसा गरेका छन्, त्यो कायम होस् भनेर कुरा उठाएको हो । हामीले कसैप्रति पूर्वाग्रह राखेर आलोचना गरेका होइनौं । प्रस्तुत छ रावलसँग धमलाले गरेको कुराकानीको सम्पादित अंश :

आज मदन भण्डारीको जन्मदिन उहाँलाई कसरी सम्झनुहुन्छ ?

म श्रद्धय जननेता मदन भण्डारीलाई स्मरण गर्नुपर्दा उहाँ एउटा देशभक्त, इमानदार, पार्टीका उद्देश्य र लक्ष्यप्रति कठिबद्ध जननेता हुनुहुन्थ्यो । उहाँको लक्ष्यलाई सहयोग गर्न नसक्नेहरुले षड्यन्त्रमा पारे भनेर म त्यो घट्नालाई सम्झन्छु ।

षड्यन्त्र पारे भनिरहँदा तपाईहरु सरकारमा हुनुहुन्छ, योबेला दासढुंगा हत्याकाण्डका दोषीलाई कारबाही गर्न सक्नुहुन्न ?

यसमा एउटा कुराको स्मरण गराउन चाहन्छु । २०५१, ०५२ मा तत्कालीन नेकपा एमालेको अल्पमतको सरकार भएको बेलामा अनुसन्धान थालेका थियौं । छिट्टै सरकारबाट हट्नुप¥यो । त्यसपछि कुनैपनि सरकार अनुकूल भएनन् अनुसन्धानका लागि ।

मनमोहन अधिकारीपछि माधव नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो अनि किन अनुकूल भएन ?

त्यसपछिका दिनहरुमा जस्तो म गृहमन्त्री भएको बेला हाम्रो संयुक्त सरकार थियो । त्यसकारण त्यो बेलामा अनुसन्धान गर्नसक्ने अवस्था थिएन । रक्षामन्त्री त ९ महिना मात्रै भएको हो । त्यसपछिका सरकारहरुमा पनि अनुसन्धान गर्ने अवस्था थिएन । अब अहिलेको सरकारले के, कसो गरेको छ । त्यो मलाई जानकारी छैन ।

विद्या भण्डारी राष्ट्रपति र केपी शर्मा ओली झन्डै दुई तिहाईको सरकारको प्रधानमन्त्री हुँदा पनि मदन भण्डारी हत्याकाण्ड रहस्यमै सीमित होइन ?

अहिले उहाँहरुले के गर्दै हुनुहुन्छ त्यो उहाँहरुलाई नै सोध्नुहोस् । त्यसको बारेमा अहिले जानकारी छैन । पहिला हामीले अनुसन्धान आरम्भ गरेको हो । तर, यसमा रहस्य के छ भने त्यतिबेला त्यो गाडीको चालक अमर लामालाई रहस्यमय ढंगले कीर्तिपुरको जंगलमा कसले किन हत्या ग¥यो । त्यसकारण यो वास्तवमा अत्यन्तै रहस्यमय घटना छ । यो घटनाको सम्बन्धमा मलाई चाहीं के लागेको थियो भने आफू बहुमतमा भएको बेलामा ठ्याक्कै दोषी पत्ता नलागेपनि घटनाक्रमलाई शृंखलाबद्ध ढंगले एकचोटी हेरेर नेपालमा देशभक्तिको आवाज उठानेहरुलाई दबाउने, मार्ने खालका खेलहरु भइराखेका छन् । त्यो बादलको पर्दा च्यातिन पाए हुन्थ्यो भन्ने मलाई लागेको हो ।

तपाईंहरुको पार्टीको बैठक सरकारी निवास गरेर सरकारी स्रोतको दुरुपयोग भइरहँदा किन एक शब्द पनि बोल्नुभएन ?

यो तपाईंको भनाइ नै गलत छ । हामीले सुरुदेखि नै पार्टीको बैठक पार्टी कार्यालय धुम्बाराहीमै बसौं भनेका छौं । त्यो बैठकमा आफ्नो पार्टीको झन्डा राखौं । आफ्नै पार्टीको साधन, स्रोतको प्रयोग गरौं भनेर सुरुदेखि नै भनेका छौं । तर, प्रधानमन्त्रीजीको स्वास्थ्य सम्वेदनशीलतालाई ध्यानमा राखेर बालुवाटारको जुन बैठक कक्ष छ । त्यो उहाँको स्वास्थ्यको लागि उपयुक्त छैन । त्यसकारण नगरौं भन्ने कुरा आयो भनेर व्यवस्थापनको जिम्मा प्राप्त नेतृत्वदायी हाम्रा नेताहरुले भन्नुभएको हुनाले हामी चुप लागेका हौं । अस्तिको बैठकमा हामीले के भनेका थियौं भने प्रधानमन्त्रीजी बैठकमा आउन नसक्ने अवस्था भयो । उहाँको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर बालुवाटारमा बैठक राखियो । तर, उहाँ नै नआउने हो भने यहाँ किन गर्ने ? धुम्बाराहीमै राखौं भनेर हामीले सम्बन्धित नेतृत्वको ध्यान आकृष्ट गरिसकेका छौं । तर, जनसमुदाय, मिडियामा पनि पार्टी कार्यालयमा नै पार्टीका गतिविधि हुनुपर्छ भन्ने आवाज उठेको छ । त्यो एकदमै उचित आवाज हो । म त्यसको कदर र समर्थन गर्दछु ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जन्म नै बालुवाटारमा भयो नि ?

तपाईंले फेरि गलत शब्द प्रयोग गर्नुभयो । कसरी नेपाल कम्युनिस्ट पार्टीको जन्म नै बालुवाटारमा भएको छ ? कसैलाई भ्रम नपरोस्–नेपाल कम्युनिस्ट पार्टीको जन्म २००६ सालमा भएको हो । त्यो बालुवाटारमा भएको होइन ।

नेकपाको एकीकरण बालुवाटारमा भएको होइन ?

एकीकरणको कुरा गर्नुभएको हो भने यसको घोषणा चाहीं राष्ट्रिय सभागृहमा भएको हो । तर, केन्द्रीय कमिटीको बैठक बालुवाटारमा भएको कुरा सत्य हो । त्यतिबेला पनि हामीले भनेका थियौं, ‘किन त्यसो गर्ने अन्तै गरौं’ हामीले भनेका थियौं । त्यो बेलामा पनि अगाडि मैले जे भनेँ त्यही कुरा उठाएर बालुवाटारमा भएको हो ।

स्थायी समिति बैठकमा तपाईंले आलोचना गरेकाले प्रधानमन्त्रीले सुन्न चाहनु भएन रे हो ?

त्यो बैठकमा हामीले आलोचना गरेकै छैनौं । हाम्रो उद्देश्य भनेको पार्टी कित्तामा जाओस् । विधि, प्रणालीबाट चलोस् । राष्ट्रका जल्दाबल्दा कुराहरुमा पार्टीभित्र छलफल र बहस होस् । सामूहिक निश्कर्ष निस्कियोस् । पार्टीमा पक्षपात र मनपरी नहोस् । नेपाली जनताले बडो विश्वासका साथ बहुमत दिएका छन् । भरोसा गरेका छन्, त्यो कायम होस् भनेर कुरा उठाएको हो । हामीले कसैप्रति पूर्वाग्रह राखेर आलोचना गरेका होइनौं ।

त्यसोभए प्रधानमन्त्रीले बोल्दाबोल्दै माधवकुमार नेपालले किन विरोध गर्नुभयो त ?

त्यो उहाँले किन बोल्नुभयो ? प्रधानमन्त्रीले के भन्नुभएको थियो ? त्यो उहाँहरुलाई नै सोध्नुहोस् । त्यसको जवाफ मैले दिएँ भने फेरि तपाईंले हाम्रा बारेमा बोल्न कहाँबाट अधिकार पाउनुभयो भन्ने होला । त्यसैले उहाँहरुलाई सोध्नुहोस् । जहाँसम्म योजनाबद्ध भन्ने कुरा छ । त्यो जसले योजनाबद्ध गर्दछन् । उहाँहरुले उल्टै लगाएको आरोप हो । योभन्दा अगाडि घट्नाक्रमलाई हेर्ने हो भने हामीले स्थायी कमिटिका २० जना सदस्यहरुले बैठकको माग ग¥यौं । किनभने त्यतिबेला देश विश्वव्यापी प्रकोपमा रहेको बेलामा एक्कासी अध्यादेश ल्याएर पार्टी सजिलै फुट्न सक्ने विधेयक ल्याइयो । तर, हामीले संविधानको धारा ३९ को ४ बमोजिम जुन बोलाउनैपर्ने स्थायी समितिको बैठक त्यो बेलामा माग गरेका थियौं । त्यो पनि गरिएन । त्यसकारण यो सब फजुल कुरा हो ।

कार्यकारी अध्यक्ष प्रचण्डले जुन अभिव्यक्ति दिनुभयो नि त्यसले प्रधानमन्त्रीलाई निरासा बनायो अरे नि ?

यहाँ को व्यक्ति निरास हुनुभयो, को खुसी हुनुभयो त्यो महत्वपूर्ण विषय होइन । महत्वपूर्ण कुरा त हामीले राष्ट्रले सामना गर्नुपर्ने चुनौतिको एकताबद्ध भएर पार्टीको नीति, पद्धति र सिद्धान्तअनुसार कसरी गर्न सकिन्छ । राष्ट्रलाई सर्वोपरि हित हुनेगरी राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, राष्ट्रिय अखण्डतालाई सर्वोपरी राखेर हामी कसरी काम गर्न सक्छौं । त्यो दिशमा कसले काम ग¥यो, कसले गरेन । कहाँ कमजोरी भए, छन् भने त्यसलाई कसरी हटाउने भन्ने विषयमा छलफल हुृनु महत्वपूर्ण हो । त्यसमा छलफल गर्दा को खुसी हुन्छ ? को दुःखी हुन्छ, को निरास हुन्छ त्यतातिर हिसाबकिताब गरेर साध्य हुन्छ ।

तपाईंहरुको कारणले प्रधानमन्त्रीको चित्त दुखेको छ रे ?
उहाँको चित्त दुखेको छ, छैन । त्यो तपार्इंंलाई नै थाहा होला मलाई थाहा छैन । हामीले त पार्टी, जनता र देशको बृहत्तर हितमा काम गर्नुपर्छ भनेका छौं । त्यो कुरा भन्दा कसैको चित्त दुख्छ भने अब हामीले भन्ने के हो ? त्यसको बारेमा पनि बसेर छलफल गर्दा भइहाल्यो नि ।

स्थायी समिति बैठकमा प्रधानमन्त्री फेरि पनि आउनुभएन भने तपाईंहरुसँग विकल्प के छ ?

म त त्यो अवस्थाको परिकल्पनै गर्दिन् । पार्टीको नेतृत्व गर्छु भन्ने व्यक्ति, देशको नेतृत्व गर्छु भन्ने व्यक्ति पार्टीका बैठकमा उपस्थित हुन नचाहने र पार्टीका नेताहरुले उठाएका कुरा म सुन्नै चाहन्न भन्ने कुराको म परिकल्पना नै गर्दिन् । यदि कुनै व्यक्तिलाई कसैका कुरा सुन्नै मन छैन भने बैठक नै नबोलाए भइहाल्यो नि । तपाईंहरुका यी-यी कुराहरु मलाई सुन्ने इच्छै छैन भन्दिए भइगयो नि । अब उहाँ किन आउनुभएन त्यो कुरा त हामी उठाइहाल्छौं । त्यसकारण म फेरि दोहो¥याएर के भन्छु भने पार्टीको कुनै पनि जिम्मेवार व्यक्ति त्यो पनि देशको प्रधानमन्त्रीजस्तो गरिमामय पदमा रहनुभएको व्यक्तिले पार्टीको बैठकमा आउनुपर्छ । उठेका कुराहरु सुन्नुपर्छ । आफ्ना भनाइहरु के हुन् ती राख्नुपर्छ । अरुका भनाइ गलत भए त्यसको खण्डन गर्नुपर्छ । ठीक छन् भने ती कुरा स्वीकार गर्नुपर्छ । यो नेपाल कम्युनिस्ट पार्टीको नीति, विधि, पद्धति र सिद्धान्त हो ।

प्रधानमन्त्रीले कार्यकारी अध्यक्षको जिम्मा प्रचण्डलाई दिएर उहाँ आउनुभएन भने तपाईंहरु के गर्नुहुन्छ ?

उहाँ बैठकमा आउनुभएन भन्ने कुराको म परिकल्पना गर्दिन । दोस्रो कुरा, हिजो हामीलाई खबर गरिएको थियो उहाँको स्वास्थ्यको कारणले गर्दा लामो समय बस्न नसक्ने हुनुभयो भन्ने कुराको । मान्छे स्वास्थ्यको कारणले कामै गर्न नसक्ने, जिम्मेवारी बहन गर्न नसक्ने अवस्थामा पुग्यो भने जबर्जस्ती गर्न त मिलेन । भोलि मेरै भनौ मैले मेरो स्वास्थ्यको कारणले म स्थायी समिति सदस्य भएर अब काम गर्न सक्दिँन भनें भने तैंले स्थायी कमिटि सदस्य भएर काम गरिरहनुपर्छ भनेर कसैले भन्न सक्दैन नि । त्यसो भएर उहाँले आफ्नो स्थिति प्रष्ट पार्नुहोला । अर्को कुरा पार्टीको सामाजिक शक्ति, बल, बुद्धि हजारौं, लाखौं सदस्यहरुबाट बनेको संगठन हो । यो संगठनमा मानेलिऊ म अथवा अर्को कुनै व्यक्तिको अनुपस्थिति हुँदैमा त्यो संगठन एउटै व्यक्तिको कारणले गर्दा सबै निश्क्रिय भए । प्रक्रिया अगाडि बढ्दै बढेन । त्यो पार्टीका विधान, नीति, विधि, सिद्धान्त कुनै कुराले पनि त्यस्तो अवस्था आउन दिँदैन नि ।

कोरोना भगाउने जन्तरको बारेमा तपाईंको प्रतिक्रिया आएन नि ?

अब कसले जन्तर ल्यायो, कसले औषधि ल्यायो । त्यो त पार्टीको नीति, सिद्धान्तको विषय भएन नि । त्यो चिकित्सक, सम्बन्धित विज्ञले भन्ने कुरा हो । मैले आफूले गरेको पनि होइन म आफैलाई विश्वास पनि छैन ।

माधव नेपालले दिनुभएको जन्तर लिनुभएन ?

मैले एकचोटी हेरेँ, यो के–के भन्ने भयो बुझिँन । मेरो घाँटीमा तपाईं जन्तर देख्नुभएको छ ? यस्ता कुरालाई पार्टीको नीति, सिद्धान्त नै बनाएर के–के न गरेँ भन्ने होइन । सम्बन्धित विज्ञहरुले यो कुरा होइन यसमा भ्रम नपर्नुहोस् भन्नुभयो भने हामीले त्यो कुरा छोडिदिनुपर्छ । किनभने यसले जनतालाई भ्रम पर्न सक्छ । विज्ञहरुले यो होइन यो नगरौं भनेपछि हामीले त्यो कुरा सुन्नुपर्छ । मैले सुनेको छु । किनभने स्वास्थ्य मन्त्रालयका सम्बन्धित व्यक्तिले ‘यो कुनै वैज्ञानिक प्रमाणित कुरा होइन’ विश्वास्थ्य संगठनले पनि प्रमाणित गरेको कुरा होइन त्यो कुराले जनताहरुमा भ्रम हुन्छ । नेताहरुले नै त्यसो गरिदिएपछि यसको प्रभाव नराम्रो पर्छ । मैले हिजै भनिसकेको छु, हामी यस्ता कुराको पछाडि लाग्नुहुँदैन भनेर ।

ज्ञानेन्द्रबहादुर कार्कीले त एमसीसी परियोजनाको सम्झौतामा भीम रावलको पनि संलग्नता छ भन्नुभयो सही हो ?

देशको एउटा कुनै पार्टीको नेता हुँ भन्ने व्यक्ति । जो अर्थमन्त्री पनि भइसक्नुभएको छ । उहाँबाट दुईवटा कुरा सुनेको छु । म तपाईंकै सञ्चारमाध्यमबाट उहाँलाई प्रश्न गर्न चाहन्छु । ‘म त्यो कुराको कुन बैठकमा ? के विषयमा, कुन मितिमा, कहाँनेर संलग्न भएँ ? उहाँले नेपाली जनतालाई भन्नुपर्छ । यस्ता भ्रम सिर्जना गरेर अरुलाई अतिरञ्जना ग¥यो भन्ने आफू गलत कुरा गरेर एउटा दफा पनि उहाँको अन्तर्वार्ता मैले सुनेको छु । उहाँले मैले उठाएको कुनै दफामा त्यस्तो छैन भनेर भन्न सक्नुभएन । मैले ती दफाहरु पढेर नेपाली जनतालाई सुनाइरहेको छु । मैले सुनाएका ती दफाको बारेमा एउटा पनि खण्डन नगर्ने अनि भ्रम फिजायो, देशप्रति दुराग्रह राख्यो भनेर मनोगत कुरा गरेर उहाँले भीम रावलको पनि संलग्नता थियो भन्नुभयो मलाई त्यसमा हाँस उठ्यो । मेरै बारेमा त्यस्तो कुरा गरेपछि त्यो झुठा हो भन्ने प्रष्ट भयो । जब मलाई त्यो कुरा थाहा पनि छैन । जुनबेला सम्झौता प्रतिनिधिसभामा प्रस्तुत भयो त्यो दिन मात्रै थाहा पाएँ । अर्को उहाँले त्यो सम्झौता नेपालको संविधानमा माथि हुनेछ भनेर लेखेको छ भन्न समेत भ्याउनुभयो । त्यो सम्झौताको कुन धारा नेपालको संविधानमाथि हुनेछ भनेर लेखिएको छ ? अर्को कुरा त्यहाँको कर्मचारीसँग हस्ताक्षर गरेकोमा उहाँ के तर्क दिनुहुन्छ भने त्यहाँ राज्यमन्त्रीको उपस्थिति थियो भनेर । एक उहाँ आँफै मन्त्री राज्यमन्त्रीसँग त्यसमा अझ राज्यमन्त्री नै थिएनन् । अथवा त्यो सम्झौतामा कम्तिमा राज्यमन्त्रीलेसम्म सही गरिदिएको भएपनि हुन्थ्यो । अनि कार्यवहाक कर्मचारीसँग सही गर्ने फेरि भन्ने राज्यमन्त्रीको उपस्थिति थियो । योभन्दा गैरजिम्मेवारी कुरा के हुन सक्छ ?

अब एमसीसी नेपालबाट गयो ?

यो मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग नेपालले गरेको सम्झौता नेपालको हित, हाम्रो शासन प्रणाली, नेपालको कानुन र हामीले अपनाएको बाटो केहीसँग पनि नमिल्ने र एउटा कम्पनीले हस्ताक्षेर गर्ने र त्यो कम्पनीमार्फत एउटा देश हुने हुनाले पारित नगरौं भनेको हो । यदि ती गलत कुराहरु सबै हटाइयो भने अमेरिकासँग अनुदान लिने कुरामा हाम्रो विमति पनि छैन । अमेरिकासँग हाम्रो कुनै पूर्वाग्रह पनि छैन । जहाँसम्म म्यादको कुरा छ–त्योपनि नेपाली जनतालाई भ्रमित बनाउने काम भएको छ । पहिला वर्षमा भएन जान्छ भनियो । त्यसपछि सेप्टेम्बरमा भएन भने जान्छ भनियो । अहिले असार १६ गते भएन भने जान्छ भनियो । यदि यो जान्छ भने जान्छ त । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्