काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता डगमगाएको छ । उनले यसको खुलासा आफै गरेका छन् । त्यो पनि बालुवाटारमा आयोजित मदन भण्डारी जन्मजयन्तीमा आयोजित कार्यक्रममा । ओलीले आफूलाई हटाउन भारतको राज्य संयन्त्र नै लागेको आरोप लगाए ।
ओलीले भारत किन र कसरी आफूलाई हटाउन लाग्यो भनी तथ्यहरु समेत प्रस्तुत गर्न खोजे । उनको तथ्यहरु भारतको मिडिया र बौद्धिक बहसहरु थिए । हिजो टाइम्स अफ इन्डियाले ओलीको सत्ताको दिनगन्ती शुरु भएको समाचार प्रकाशित गरेको थियो । ओलीले नाम नलिई त्यसप्रति पनि संकेत गरे ।
भारतले किन आफूलाई हटाउन खोज्यो भन्ने उनको तर्क थियो अतिक्रमित भुमि फिर्ता ल्याउन खोज्नु । ओली सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको नयाँ नक्शा जारी गरेको थियो । संसदबाट यसलाई समेटेर निशान छाप पनि संशोधन भइसकेको छ । आफूले राष्ट्रियताका पक्षमा काम गरेकाले भारत हटाउने खेलमा लागेको उनको भनाई थियो ।
ओलीले होटल र घरहरुमा आफूलाई हटाउने चलखेल भइरहेको उल्लेख गरे । केही नेताहरु यसरी लागेको उनको आरोप थियो । तर, उनले तिनको नाम उल्लेख गरेनन् ।
९ असारमा बालुवाटारमा भएको बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको राजीनामा मागेका थिए । यसको खुलासा रिपोर्टर्स नेपालले गरेको थियो । ओलीको राजीनामा मागिएको विषय टाइम्स अफ इन्डियाले पनि प्रकाशित गरेको छ ।
ओलीले आफूलाई हटाउन खोज्नुको कारणमा राष्ट्रियताको पक्षमा काम गरेको भनेका छन् । तर, उनले हटाउन नसक्ने समेत दाबी गरेका छन् । चीनसँग पारवहन सम्झौता गर्दा बहुमत नरहेकाले हटाउन सकेको र अहिले बहुमत भएकाले हटाउन नसक्ने ओलीको भनाई थियो ।




प्रतिक्रिया