Logo

जननेता भण्डारीका विचार अहिले पनि उत्तिकै सान्दर्भिक : पूर्वमन्त्री बाँस्कोटा



काभ्रेपलाञ्चोक, १४ असार : नेकपाका केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले जननेता मदनकुमार भण्डारी परिवर्तनकारी विचारका योद्धा भएको बताएका छन् । जननेता भण्डारीको ६९औँ जन्मजयन्तीमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु काभ्रेपलाञ्चोकद्वारा धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित स्मृतिपार्कमा आयोजित स्मृतिसभालाई आज सम्बोधन गर्दै उहाँले जननेता भण्डारीका विचार र सिद्धान्तका योद्धाका रुपमा रहँदै आएको दाबी गरे ।

उनले यतिबेला राष्ट्रवादी आन्दोलन चासो र चिन्ताको विषय बनिरहेका बेला जननेताका परिवर्तनकारी विचार मार्गदर्शक भएको बताए । उनले भने, “भण्डारीका विचार वर्तमान अवस्थामा पनि उत्तिकै महत्व बनेको छ, उनका सिद्धान्तले आज पनि समग्र विषयको मार्गदर्शक रहेको छ ।” जननेता एउटा व्यक्ति मात्रै नभई राष्ट्र रुपान्तरणका योद्धा रहेको उनले दोहो¥याए ।

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका उनले जननेताको सालिक कुनै ढुङ्गाको प्रतिमा मात्रै नभएको दाबी गरे । “यो ढालिने सालिक हैन, एउटा अविचलित सालिक हो, जो नेपालीका मनमनमा कहिल्यै नढल्ने गरी रहिरहन्छ”, उनले भने । आन्दोलनहरु विश्रृङ्खलित हुँदा लेनिन र माक्र्स समेतका सालिक ढलेको स्मरण गर्दै उहाँले जननेताको सालिकलाई जनताको मन–मस्तिष्कको सालिकको संज्ञा दिए ।

उनले राजनैतिक दौरानमा धेरै योद्धा गुमाएको उल्लेख गर्दै जननेता मार्गदर्शक सिद्धान्तको प्रतिपादकमा स्थापित भएको बताए । “उनी सांस्कृतिक, सामाजिक र राजनीतिक परिवर्तनमा अनन्त र निरन्तर रुपान्तरकारी विचारक थिए”, उनले भने । उनले जननेताको विचार र दृष्टिकोण एउटा सामाजिक, आर्थिक जस्वन पद्धतिका रुपमा ग्रहण गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले जननेताको सालिकले उनको बहुआयामिक रुप र विचार प्रस्तुत गरिरहने चर्चा गर्दै भने, “ढुङ्गा त बोल्दैन तर जननेताको सालिकले विचार, जीवन्त जीवन र सामाजिक मूल्यमान्यताका पद्धति प्रस्तुत गरिरहेको हुन्छ ।” जननेताको सालिक कुनै सत्ताको बलमा स्थापित कुनै राजा महाराजाको सालिक नभएको बताउँदै नेपालमा परिवर्तनका निम्ति जीवन उत्सर्ग गर्ने योद्धाको सालिक भएको उनले बताए ।

उनले स्वाभाविक रुपमा फरक कोण र शैलीमा चुनौती आउने, भइरहने बताए । “हामीलाई स्वाभाविक रुपमा विविध चुनौती आइरहन्छन्, त्यसलाई सामना गरेर अघि बढ्नुपर्दछ, हामीसँग त्यो साहस र सामथ्र्य छ”, उनले भने । आफुहरू निरन्तर परिवर्तन र गतिको यात्रामा लागिरहने उनको धारणा थियो ।

उनले सभाअघि उद्यानमा रहेको जननेताको सालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो । २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनुभएका उनले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरणका लागि ‘जनताको बहुदलीय जनवाद’ (जबज)को सिद्धान्त प्रतिपादन गरेका थिए । रासस/File photo



प्रतिक्रिया दिनुहोस्