काठमाडौं,१५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन भारत सक्रिय भएको आरोप लगाएको विषय भारतमा निकै चासोको विषय बनेको छ । भारतीय मिडियाहरुले उनको अभिव्यक्तिलाई प्राथमिक समाचार बनाएर प्रकाशन तथा प्रशारण गरेका छन् ।
टाइम्स अफ इन्डियाले ओलीले आइतबार भारतीय अधिकारी र भारतीय राजदूतावासमाथि आफूलाई हटाउन षड्यन्त्र गरिरहेको आरोप लगाएको उल्लेख गरेको छ । उनको भनाई उदृत गर्दै नयाँ नक्शा जारी गरेपछि भारतले आफूलाई हटाउन षड्यन्त्र गरेको समाचारमा भनिएको छ ।
ओलीको विरुद्ध नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कडा रुपमा प्रस्तुत भएपछि ओलीको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको भनिएको छ ।
यसअघि सन् २०१६ मा नौ महिना सत्तामा रहेपछि ओली हट्दा भारतमाथि नै आरोप लागेको टाइम्स अफ इन्डियाले भनेको छ । त्यतिबेला ओली सत्ताबाट हट्दा चीनलाई धक्का परेको समेत भनिएको छ ।
इन्डियन एक्सप्रेसले ओलीको अर्का अध्यक्ष प्रचण्डसँग मतभेद बढेको लेखेको छ । ओलीले पार्टीभित्रका विरोधीलाई भारतले आफूविरुद्ध उक्साएको आरोप लगाएको समाचारमा भनिएको छ । उनले हिजो बालुवाटारमा दिएको अभिव्यक्ति उदृत गर्दै ओलीले आफूले राजीनामा दिएमा राष्ट्रियता र सिमासम्बन्धी विषय कुनै अर्को नेताले नउठाउने समेत दाबी गरेको समाचारमा उल्लेख छ ।
यसैगरी, भारतका टेलिभिजनहरुले पनि ओलीको अभिव्यक्तिलाई प्राथमिकताका साथ प्रसारण गरेका छन् ।
ओलीको १४ असार २०७७ को बोली
१४६ वर्ष उपभोग गरेको जमिन ५८ वर्ष देखि खुस्केको छ । हाम्रो जमिन फिर्ता ल्याउन खोयौं, अरुको दाबी गरेको होइन । अरुको अतिक्रमण गरेको होइन । अरुको हस्तक्षेप गरेको होइन । त्यसकारण हामीले कुनै गल्ती गरेका छैनौं ।
तर, नेपालकै नेताहरु लाग्या छन्, बसह चल्या छ । अहिलेको अहिले केपी ओलीलाई नहटाई हुँदैन रे !
चीनसँग ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढलेको थियो, त्यतिबेला हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो नक्शा जारी भयो । त्यसो भएपछि यस्तो अपराध गर्ने केपी ओलीलाई अब…भित्र भित्रको कुरा हो त्यो । बाहिर बाहिर भन्न नसक्ने… तर भित्र भित्र यस्तो अपराध गर्नेलाई चाहिं…दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्… । त्यसैले निर्देश गरिहाल्छ कि कहाँ कहाँ के के भइराखेको छ ।
यहाँका होटलहरुमा भइराखेका गतिविधि, त्यसले पनि बताइरहेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइरहेको छ ।
तर, म तपाईंहरुलाई यति भन्छु, नेपालको राष्ट्रियता त्यति कमजोर छैन नक्शा छापेवापत्, संविधानमा नक्शा सामेल गरेबापत् यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले भन्छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन । यो नसोचेपनि हुन्छ । त्यसकारण यो भ्रम… । कोशिश गर्नेलाई त गर्न दिनु । यो हिजोको जस्तो होइन ।
कसैले हतारो नगरे पनि हुन्छ । कसैले विभिन्न विभिन्न आग्रहहरु नपाले हुन्छ । (प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनद्वारा बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा दिएको मन्तव्यको अंश)




प्रतिक्रिया