Logo

नदी कटान रोक्न उच्च क्रियाशीलता



काठमाडौँ, १५ असार । नदीको बहाव बढेसँगै तराईको जनजीवनमा बाढी र डुबानको त्रास बढ्न थालेको छ । बाढीका कारण नदीमा कटान बढेपछि तत्काल मर्मतका लागि नेपाल सरकारले उच्च चासोसँगै क्रियाशीलता देखाएको छ । त्यसक्रममा आपतकालीन रूपमा मर्मत सुरु गरिएको छ । दुई दिनअघि महाकाली नदीको कटान बढेपछि यस खालको प्रयास थालिएको हो ।

जलउत्पन्न प्रकोप व्यवस्थापन महाशाखाअन्तर्गत नदी व्यवस्थापन शाखालाई सीमा क्षेत्रका नदीबाट हुने डुबानको अवस्था अद्यावधिक राख्न जिम्मेवारीसमेत दिइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा बाढी र डुबान पर्न सक्ने साना ठूला गरेर १४८ नदी र खोला छन् तर मुख्यरूपमा तटबन्ध रहेका १७ वटा नदी अलि बढी संवेदनशील छन् ।
आइतबार झापाको कन्काई नदीले कटान गर्न थालेपछि त्यहाँका बासिन्दा सुरक्षित रहने उपाय अपनाउन थालेका छन् । नेपालमा यतिबेला तराई क्षेत्र आसपास निरन्तर वर्षा भइरहेको छ ।

साथै पहाडी भूभागमा पनि बदलीकै अवस्थामा केहीबेर रोकिँदै वर्षा हुने क्रम जारी छ । मनसुन सुरु भएको १६ दिन मात्र पुगेको छ तर नेपालका साना ठूला नदीमा पानीको सतह बढ्न थालिसकेको छ । दुई दिनअघि मात्र बाढीका कारण महाकाली नदीमा कटान बढेको छ । त्यहाँ नेपालतर्फको बाँध बाढीले कटान गरिरहेको छ, मर्मत तत्काल गर्नुपर्छ भनेर निर्देशन दिइसकेका छौँ, आपतकालीन रूपमा मर्मत सुरु भएको छ, नदी व्यवस्थापन शाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर विष्णुदेव यादवले जानकारी दिनुुभयो ।

उहाँका अनुसार पुरानो बाँध भएकाले त्यहाँको लञ्चिङ र स्परहरू बाढीले भत्काइसकेको छ । बाँध छोइसकेको छ । बाँध काटियो भने करोडौँको नोक्सान हुन्छ, पानी सबै नेपालको बस्तीमा आउँछ, त्यसैले क्रियाशीलता बढाएको खबर आजको गोरखापत्रमा चाँदनी हमालले लेखेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्