Logo

नेपालका प्रधानमन्त्रीलाई भारतले कसरी हटाउन मिल्छ ?- रामकृष्ण यादव, नेता, नेपाली कांग्रेस



काठमाडौं, १५ असार । नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले सरकारको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो दिएको अभिव्यक्तिलाई कमजोर मानसिकता भनेका छन् । उनीसँग यसै सेरोफेरोमा रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः
आज राष्ट्रिय धान दिवस हो, किसानहरुको पीडाका बारेमा के भन्नुहुन्छ ?
असार १५ गते आज धान दिवस हो । सम्पूर्ण किसानहरुको लागि खुसीको दिन पनि हो । आजको दिन दही–चिउरा खाने परम्परा र संस्कृति छ । त्यसैले सम्पूर्ण किसानको खुसीको दिनहुँदाहुँदै पनि चिन्तामा हुनुहुन्छ । किन भने अहिले विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालमा पनि संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । मृतकहरुको संख्याहरु बढ्दै गइरहेको छ । क्वारेन्टाइनको अवस्थामा पनि दिनप्रति दिन नाजुक हुँदै गएको छ । क्वारेन्टाइनमा राखिएकाहरुलाई पिसीआर परीक्षण नगरिकनै घर पाइएको छ । यी सबै दुःखकष्टहरु झेलेर धान रोपाईं गरिरहनुभएको थियो । आजपनि केही व्यक्तिहरु धान रोपाईं सम्पन्न भएको होला । तर, धेरै किसान दाजुभाइ दिदीबहिनीहरुले धान रोपाईको काम सम्पन्न गर्न सक्नुभएको छैन ।
धान रोप्न किसानहरुले किन सकेनन्, केमा समस्या आयो ?
नेपाल कृषि प्रधान देश हो । यहाँका बहुसंख्यक दाजुभाइ दिदीबहिनीहरु कृषिमा निर्भर हुनुहुन्छ । कोरोना महामारीका कारणले लकडाउन हुँदा मजदूरको पनि अभाव भयो । सिंचाईंको पनि अभाव थियो । अहिले केही दिनदेखि पानी पर्न थालेको छ । कम जमीनमा बढी फल्ने उन्नत जातको बीऊ पनि किसानहरुले बेलामा पाउनुभएन । रासानिक मलको पनि अभाव छ । यस्ता खालका अभाव र दुःखका कारण किसानहरु निरास हुनुभएको छ । यसपालि त समयमै मल, बीऊ पाइएला भन्ने आशा थियो । लोकतान्त्रिक गणतन्त्रत्मक व्यवस्थाको दुई तिहाई हाराहारीको सरकार छ । यसले किसानहरुलाई आवश्यक पर्ने रासानिक मल, बीउ समयमै उपलब्ध गराउँछ , सिंचाईंको पनि बन्दवस्त गराउँछ भन्ने जुन आशा त्यो पुरा हुन सकेन । उन्नत जातको बीऊ प्राप्त हुन सकेन । त्यसकारण अहिले किसान दाजुभाइ, दिदीबहिनीहरु परम्परागत रुपमै खेतीको काम गरिरहनुभएको छ । अर्को अहिले फेरि सलह किराले धानको ब्याडलाई नष्ट गरिरहेको । त्यसको नियन्त्रणको लागि विज्ञहरु पठाएका छौं भनेर प्रदेश सरकारले भरिहेको छ तर, कुनै विज्ञ, वैज्ञानिकहरु सम्बन्धित ठाउँमा पुगेका छैनन् । यसरी सरकारले कामभन्दा भाषण गरेर मात्रै दिन बिताउने गरेको छ । त्यसकारण आज धान दिवसको दिन किसानहरुले उत्सव मनाउनु पर्नेमा दुखेसो पोखिरहेका छन् ।
आज पनि किसानहरु पीडामा छन् तपाईं कृषिमन्त्री हुँदा पनि पीडामा थिए नि ?
म कृषि मन्त्री हुँदा निर्वाचनको समय थियो । म संलग्न त्यो सरकारले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरायो । निर्वाचनको आचार संहिताका कारणले त्यसले सरकारले बजेट ल्याउन सकेन । त्यसबेल ५, ६ महिना मात्रै कृषि मन्त्रालय संहाल्ने मौका पाएको हुँ । त्यति थोरै समय कृषि मन्त्री हुँदा पनि हामीले सुख्खा ठाउँहरुमा डीपबोरिङबाट पनि सिंचाइको सुविधा उलब्ध गरायौं । मल, उन्नत जातको बीऊ उपलब्ध गराएर किसानहरुलाई दुःख हुन थिएनौं । छोटो समयमा पनि किसानहरुको लागि गर्नेपर्ने काम गरेका थियौं ।
किसानहरुको समस्या समाधान गर्न वर्तमान सरकार असफल भएको हो ?
हिजोको सरकार र आजको सरकारमा धेरै फरक छ । हिजो देशमा राजनीतिक अस्थिरता थियो । २०४६ सालपछि दुईवटा सरकारको सामान्य बहुमत मात्रै थियो । त्यसको कुनै पनि सरकार बहुमतको थिएन । त्यसकारणले पनि कृषि मन्त्रालयको अवस्था अस्तव्यस्त भएको थियो । अहिलेको सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त दुई तिहाईको छ । यो पूर्ण बहुमतको सरकार छ । यसले करिव तीन वर्ष बिताइसकेको छ । हाम्रो देश कृषि प्रधान हो यहाँ बहुसंख्यक जनता कृषिमा आधारित छन् । तर, यो सरकारले कृषिलाई अगाडि बढाउन र कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक बनाउन प्रयास गरेको छैन । मल, बिऊको अभाव छ । किसानलाई सहुलियत दरमा दिइने ऋण पनि भाषणमा मात्रै सीमित छ । नीति तथा कार्यक्रममा २०७७÷७८ को बजेट कामगजमा मात्रै सीमित छ । जनतासम्म पुग्न सकेको छैन ।
कांग्रेसको १४ औं महाधिवेशन फागुनमै हुन्छ ?
यसमा नेपाली कांग्रेस विधान र नियमावलीले जुन समय हामीलाई दिएको छ त्यसपछि हामीले एक वर्ष म्याद थपिसकेका छौं । चार वर्षको अवधि थियो त्यसभित्र अधिवेशन गर्न नसकेकाले १ वर्ष थपिएको छ । त्यो एक वर्षभित्र महाधिवेशन गर्ने हामी सबैको वाध्यता हो । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । प्रजातान्त्रिक प्रक्रियामा विश्वास गर्दछौं । कानुनी राज्यको अवधारणालाई मानेर अगाडि बढ्छौं । त्यसकारणले अब हामीसँग कुनै विकल्प उपया छैन । जसरी पनि आगामी फागुनमा महाधिवेशन गर्नैपर्छ । त्यसको लागि हिजो पदाधिकारी बैठ बसेको थियो । केन्द्रीय कार्यसमितिको बैठक पनि हुन लाग्दै छ । त्यो बैठकमा विधिवेशनको बारेमा त्यसपछि यो सरकारले नागरिकता संशोधन ऐन ल्याएको छ । त्यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउँदै छ ।
प्रधानमन्त्रीले त नक्साकै कारण मलाई भारतले हटाउन खोजिरहेको छ भन्नुभयो नि ?
नेपालको प्रधानमन्त्रीलाई अरु देशले कसरी हटाउन मिल्छ ? फेरि दुई तिहाई हाराहारीको बहुमत छ । यो सरकारले विधिन्न खाले विधेयक, ऐन ल्याएर जनता, जनताबीच लडाउने काम गरिरहेको छ । अग्रगमनतिर जानुपर्नेमा प्रतिगमनतिर अगाडि बढिरहेको छ । जसले गर्दा जनताहरुले पाएको अधिकार कटौतितिर लागेको छ । यी सबै विषयमा एउटा जिम्मेवार पार्टी हो ।
प्रधानमन्त्रीलाई हटाउन भारतले खेलखेलिसक्यो नि तपाईंहरु कता हुनुहुन्छ ?
नेपालको प्रधानमन्त्रीलाई भारतले, चीनले अथवा कुनै पनि अन्य देशले कसरी हटाउन मिल्छ । नेपालको प्रधानमन्त्रीलाई नेपाली जनताले हटाउने हो । नेपालका प्रधानमन्त्रीलाई प्रतिनिधिसभाका सांसदले हटाउने हो । अरु कुनै देशका प्रधानमन्त्री, राष्ट्रपति, जनताले नेपालका प्रधानमन्त्रीलाई न हटाउन सक्छन्, न राख्न सक्छन् । जसरी अहिले प्रधानमन्त्रीजीले भनिरहन्नुभएको छ त्यो उहाँको कमजोर मानसिकता हो ।



प्रतिक्रिया दिनुहोस्