Logo

घेराबन्दी तोड्न ओलीले गरे प्रचण्ड, माधव र बामदेवलाई छुट्टा छुट्टै अफर



काठमाडौं, १५ जेठ । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एकजुट भएकाको एकता नभत्किए सरकारमाथि कडा चुनौती बढ्न सक्छ । भोलिबाट पुनः सुचारु हुने स्थायी कमिटि बैठकमा कठोर विषयहरु प्रवेश हुने संकेतहरु देखिइसकेको । यसको संकेत स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बालुवाटारमा बोलेर गरिसकेका छन् ।

ओलीको सत्ता यो समेत दुईपटक डगमगाइसकेको छ । यसअघि उनले विरोधीको एकता भत्काएर सत्ता जोगाएका थिए । तर, यसपटक त्यो सम्भावना क्षीण छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम एकजुट भई ओलीविरुद्ध खनिएका छन् । उनीहरुको उद्देश्य सरकारबाट ओलीलाई फिर्ता बोलाउने रहेको घटनाक्रमले देखाउँदै लगेको छ ।

भोलिको बैठकमा ओलीको राजीनामा सम्मको विषयले सिधै प्रवेश पाउने गरी ओलीइतरले तयारी गरेका छन् । बैठक लम्ब्याउँदै १६ असारसम्म लाने र ओलीलाई फिर्ता बोलाउने निर्णय गर्ने तयारी बुझेरै ओलीले हिजो बालुवाटारमा राष्ट्रपति विद्या भण्डारीकी छोरी उपाकिरण भण्डारी छेउमा बसेको कार्यक्रममा आफूलाई हटाउन नेपालका नेताहरु र भारतले षड्यन्त्र गरिरहेको अभिव्यक्ति दिए । प्रचण्डले ९ असारमा राजीनामा मागेपछि ओली यसरी सार्वजनिक रुपमै कडा रुपमा प्रस्तुत भएका हुन् ।

ओलीले स्थायी कमिटिले आफूविरुद्ध निर्णय गर्नसक्ने सुचना पाएर सचिवालयका कुन न कुनै प्रभावशाली नेताहरुलाई साथमा लिन निरन्तर प्रयास गरिरहेका छन् । यसका लागि उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त ठानेर फकाउन खोजिरहेका छन् । गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने प्रस्ताव स्थायी कमिटि बैठक अगावै गरिसकेका थिए । पछिल्लो समय विश्वासपात्र खटाएर कुनै एक निर्वाचन क्षेत्र खाली गराएर चुनावमा जिताएर संसदीय निर्वाचनमा प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव पुगेको छ । गौतमले यो प्रस्तावबाट अब नअलमलिने स्पष्ट जवाफ दिएको बुझिएको छ । यसअघि पनि उनलाई यही आश्वासन दिएर सहमतिमा ल्याएपनि पछि बेवास्ता गरिएको थियो ।
ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने सम्मको प्रस्ताव पठाएका छन् । विश्वस्त स्रोतका अनुसार महासचिव विष्णु पौडेलले माधव नेपाललाई पटक पटक भेटिसकेका छन् । तर, नेपाल परिस्थिति धेरै अगाडि बढिसकेको भनिदिएका छन् । पूर्व एमाले मिल्नुपर्छ भन्दै माधव नेपाललाई मन्त्रिमण्डल पुर्नगठनलगायत वभिन्न प्रस्ताव पठाएपनि तयार नभएको बुझिएको छ ।

अर्का अध्यक्ष प्रचण्डलाई पनि ओलीले मन्त्रिमण्डल पुर्नगठन गरी सहमतिको प्रस्ताव गरेका थिए । तर, प्रचण्डले कुनैपनि प्रस्ताव काम नलाग्ने भन्दै ओलीलाई सरकारबाट फिर्ता हुन भनिसकेका छन् । बालुवाटारमै उनले यसो भनेपछि भोलिपल्ट १० असारमा स्थायी कमिटि बैठकको शुरुमा बोल्ने क्रममा दुवैबीच आरोप प्रत्यारोप चलेको थियो ।

यसरी नेकपाभित्र आफ्ना विरोधीको एकतालाई फुटाएर ओलीले सत्ता सुरक्षित गर्न प्रयास गरिरहेका छन् । यसका लागि विभिन्न अफरहरु लगेका छन् । तर, यसपटक ती अफरहरु बेवास्ता गरिएकाले ओलीलाई सत्ता टिकाउन कठिन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्