Logo

सुस्मिता हत्या प्रकरणः छोराको मृत्युपछि बुहारीको अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि



काठमाडौं, १५ असार । हेटौंडामा १५ दिनअघि हत्या गरिएकी २४ वर्षीया सुस्मिता थापा क्षेत्रीको हत्या उनकै ससुरा, नन्दसहितको परिवारका सदस्यले गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ । आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरी हत्याको अनुसन्धानबाट पत्ता लागेको निष्कर्षबारे जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरका अनुसार सुस्मिता थापाको हत्याको कारणमा भौतिक आक्रमण देखि जर्बजस्ती करणी उद्दोग लुकाउने सम्मको कारण देखिएको छ । असार १ गते रक्सी पिएर ससुरा प्रकाश थापाले काठको लौरोले खान खाइरहेकी बुहारीलाई प्रहार गरेका थिए ।

महिनावारी भएकाले सुस्मिता भुईंमा बसेर खाना खाँदै थिइन् । उनकी नन्द सिता थापा पनि खाना खाँदै थिइन् । सोही समयमा ससुराले बाहिरबाट काठको लौरो हातमा लिएर भान्छा कोठामा प्रवेश गरी टाउकोमा प्रहार गरेपछि भुईँमा लडेकी थिइन् । त्यसपछि नन्द सिता थापाले समेत भाउजुमाथि प्रहार गरेकी थिइन् ।

सुस्मिताले बचाउ भन्ने शब्द निकालेपछि सासु तुलना थापाले सुनी भान्छा कोठामा आए पश्चात ससुरा र नन्दले सासुलाई भान्छाबाट बाहिर निकालेका थिए । त्यसपछि उनीहरुले पटक पटक काठको लौरो र ढुंगाको लोहोरोले निर्ममता पूर्वक सुस्मिता माथि प्रहार गरी हत्या गरेका थिए ।

त्यसपछि छोरी सिता थापाले आमालाई हल्ला नगर्न भनी कोठामा लगेकी थिइन् । बिग्रिएको सबै सामान यथास्थानमा राखेको र निधारमा घाउ छोपी विभिन्न स्थानमा लागेको रगतहरु पुछेपछि भान्छामा भित्रबाट कोठाको चुकुल लगाई झ्यालबाट बाहिर निस्किएका थिए । त्यसपछि हत्यामा प्रयोग भएका सामाग्री र फुटेका सामान सबै मकै बारीमा फालेका थिए । उनीहरुले आफ्नो शरीरमा लागेको रगत समेत पुछेका थिए ।

१ असारमा हत्या गरी भोलिपल्ट विहान ५ बजे बुहारीले आत्महत्या गरी भनी छिमेकीलाई जानकारी गराएपश्चात प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनाको गहिरो अनुसन्धानपछि सुर्यचोकमा २४ वर्षीया सुस्मिताको हत्याको कारण पत्ता लगाएको छ । जसमा आर्थिक र यौनजन्य कारणहरु पत्ता लागेको छ ।

२३ असोज २०७६ मा ससुरालीबाट फर्कने क्रममा सवारी दुर्घटनामा परी सुस्मिताका पति रुपेन्द्र थापाको मृत्यु भएको थियो । रुपेन्द्रको मृत्युको कारण सुस्मिता हो भनी मानसिक यातना दिने गरेका थिए ।

ससुरा प्रकाश थापाबाट बुहारी सुस्मितालाई बाथरुपममा जर्बजस्ती करणी उद्दोग गरेको समेत खुलेको छ ।

सुस्मिताका पति रुपेन्द्रको सवारी दुर्घटनापश्चात क्षतिपूर्ति पाउने पाँच लाखबारे घरायशी विवाद भएको थियो । सुस्मिताले पाँच लाख लिएपछि घरपरिवारले आफूहरुले पाउनुपर्ने दाबी गरेका थिए । उनले काम गर्ने कम्पनिबाट बिमा, बोन, तलब भत्ताको बाँकी रकम गरी ३७ लाख भुक्तानी लिने विषयमा पनि विवाद भएको थियो । यसकारण पनि भुक्तानी हुन सकेको थिएन । सामाजिक सुरक्षा कोषबाट एक लाख ७७ हजार सुस्मिताको बैंक खातामा जम्मा भएको, बिमाको १० लाख इच्छाइएको व्यक्ति बाबु प्रकाश थापाले लिइसकेको भेटिएको थियो ।
रकमको विवाद नै हत्याको मुख्य कारण देखिएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । डिएसपी इन्द्रबहादुर राना नेतृत्वको टोलीले अनुसन्धानबाट यी तथ्यहरु पत्ता लगाएको उल्लेख छ ।

कपिलवस्तुकी २४ वर्षीया सुस्मिता थापा क्षेत्रीको हेटौंडाका रुपेन्द्र थापाबीच १८ वैशाख २०७६ मा विवाह सम्पन्न भएको थियो । ससुरालीबाट फर्कने क्रममा २३ असोजमा नवलपरासीको दाउन्नेमा थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । घटनापछि मृत्युको कारण बुहारीलाई देखाउने देखि थापाको मृत्युपछि आएको रकममा विवाद देखिएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्