Logo

को बन्ला नयाँ आईजी?



काठमाडौं, असार १५ । नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो ।

धेरै वर्षपछि यसपटक प्रहरीको आगामी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाटै बन्नेछन् । वर्तमान आइजिपी ज्ञवालीसमेत सिधै डिआइजीबाटै आइजिपी भएका थिए ।

ज्ञवालीको अवकाशसँगै अबको प्रहरी प्रमुखका लागि एआइजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल प्रतिस्पर्धामा छन् । दुई एआइजीमध्ये एक जना महानिरीक्षक बन्नेछन् ।

नेपाल प्रहरीमा थापा र पालका अलावा तारणीप्रसाद लम्साल पनि एआइजी हुन् । तर, उनी पनि आइजिपी ज्ञवालीसँगै २४ असारमा नै अनिवार्य अवकाश हुने भएकाले थापा र पालमध्येबाट एक जना आइजिपी बन्ने भएका हुन् ।

हाल एआईजीको वरीयतामा लम्साल पहिलो नम्बरमा छन् । थापा दोस्रो र पाल तेस्रो नम्बरमा छन् । नेपाल प्रहरीमा एआइजीका दरबन्दी तीन वटा मात्रै छन् ।

प्रहरी संगठनमा एकै मितिमा प्रवेश गरेका थापा र पाल दुवैले संगठनभित्र कुशल तथा व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका छन् । उनीहरू दुवै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

थापाले डिआइजी रहँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखका रूपमा रहेर राजधानीको सुरक्षाको नेतृत्व सम्हालिसकेका छन् । उनले दुई पटकसम्म प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका छन् । त्यसअघि इन्सपेक्टर, डिएसपी, एसपी, एसएसपी हुँदै डिआईजी हुँदासमेत थापाले पटक पटक प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर अनुभव बटुलेका छन् ।

थापाले एसपी हुँदा झापा, कास्की र धादिङ जिल्लाको कमान्ड सम्हालेका थिए । हाल उनी मानव स्रोत एवं प्रशासन विभागका प्रमुख छन् ।

यसैगरी, भावी प्रहरी प्रमुखको दाबेदारका रूपमा रहेका पालले डिएसपी रहँदा डडेल्धुरा र नुवाकोटको कमान्ड सम्हालेका थिए भने एसपी हुँदा कास्की, रूपन्देही र धनुषाको कमान्ड सम्हालेका थिए । यस्तै, एसएसपी हुँदा अञ्चल प्रहरी कार्यालय कोसीमा रहेर उनले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

यसैगरी, पालले डिआईजी हुँदा प्रदेश २ को प्रहरी प्रमुख र विशेष ब्युरोलगायतमा नेतृत्व गरिसकेका छन् । हाल उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुखका रूपमा कार्यरत छन् ।

प्रहरी निरीक्षक हुँदा वडा प्रहरी कार्यालय बौद्ध, धनगढी प्रहरी कार्यालय र राजधानीको भृकुटीमण्डपमा रहेको तत्कालीन नगर प्रहरी कार्यालयको नेतृत्व गरेको अनुभव पालसँग छ । उनीसँग राजधानीभन्दा बढी बाहिरी जिल्लाको नेतृत्व गरेको अनुभव छ ।

थापा र पाल दुवै प्रहरी संगठनभित्र निष्कलंक छवि बनाएका प्रहरी अधिकारीका रूपमा चिनिँदै आएका छन् । दार्चुलाका पालले सुदूरपश्चिमबाटै सेवा सुरु गरेका हुन् भने भक्तपुरका थापाले प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सेवा सुरु गरेका हुन् । यस बीचमा पाल दुई र थापा तीन देशमा मिसनमा समेत गएका छन् । पाल पूर्वी टिमोर र इराक गएका थिए भने थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा खटिएका थिए ।

प्रहरी संगठनभित्र थापालाई योजना बनाउन सक्ने, अनुभवी तथा जस्तासुकै परिस्थितिसँग नआत्तिने, बौद्धिक र परिपक्व अधिकृतका रूपमा लिने गरिन्छ । अर्का एआइजी पाल प्रहरीभित्र अप्रेसन, सहकार्य र कमान्डको नेतृत्वमा दक्ष मानिन्छन् ।
नयाँ आइजी नियुक्तिको मिति नजिकिँदै जाँदा सरकारले समेत सोबारे तयारी थालेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्