Logo

नेकपा बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने सम्मको तयारी



काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टीको आज बस्ने स्थायी कमिटि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा सम्म माग्ने तयारी उनका विरोधी समुहले गरेका छन् । पार्टी र सरकारको गम्भीर समिक्षा हुने बैठकमा ओलीइतरको समुहले ओलीलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने माग राख्ने तयारी गरेको विश्वस्त स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले १४ असारमा बालुवाटारमा आफूलाई हटाउन भारत र केही नेताहरु लागेको भनी अभिव्यक्ति दिएको विषयलाई बैठकमा उठाउने तयारी भएको छ । उक्त अभिव्यक्तिले नेकपाभित्र भारतको प्रभाव रहेको सन्देश गएको र त्यस्तो हो भने को को नेता लागे प्रष्ट पार्नुपर्ने भन्दै ओलीइतरका स्थायी कमिटि सदस्यहरुले प्रश्न गर्ने तयारी गरेका छन् । उनीहरुले भारतले सरकार ढाल्न खोजेको हो भने भारतीय राजदुतसँग स्पष्टिकरण लिइनुपर्ने सम्मको विषयलाई जोडदार रुपमा प्रस्तुत गर्ने भएको एक स्थायी कमिटि सदस्यले बताए ।

नेकपाभित्र ओलीइतरको समुहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायत छन् । यो समुह निकै बलियो अवस्थामा रहेकाले एकजुट भएर ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारीमा छ । यसकै सुचना पाएर ओलीले आफूलाई हटाउन भारत र केही नेताहरु लागेको अभिव्यक्ति दिएका थिए । उनले स्पष्ट रुपमा पार्टीभित्रका आफ्ना विरोधी नेताहरुप्रति संकेत गरेका हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्