Logo

संघीय निजामती विधेयकविरुद्ध कर्मचारी संगठनले थाले आन्दोलनको तयारी



काठमाडौं, असार १६ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवासम्बन्धी विधेयकको विरोधमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको नेतृत्वमा विभिन्न कर्मचारी संघसंगठनहरुले आन्दोलनको घोषणा गर्ने भएका छन् ।

निजामती सेवा सम्बन्धी विधेयकमा भएका प्रावधानहरुप्रति असहमति जनाउदै कर्मचारीका संघसंगठनहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् । कर्मचारीहरुले यो विधेयकले कर्मचारीको वृद्धि विकासमा अवरोध, ट्रेड युनियन अधिकार खारेज गर्ने लगायतका प्रावधान राखेर एनजीओ वादीहरुलाई मात्रै फाइदा पुग्ने बताएका छन्

पत्रकार ऋषि धमलासँग कुरागर्दै नेपाल निजामती कर्मचारिहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेलले निजामती कर्मचारीनै नरहने गरी विधेयक आएकाले आजबाटै सवै कर्मचारी संघसंगठनहलाई समेटेर देशव्यापी रुपमा आन्दोलनको घोषणा गरिने जानकारी दिए ।

निजामती कर्मचारीको अवकाशको उमेर हद अब ६० वर्ष कायम गर्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार संघीय निजामती सेवासम्बन्धी विधेयक पारित गरेको थियो । यसअघिको उमेर हदलाई दुई वर्ष बढाएको हो । सेवानिवृत्त कर्मचारीले सरकारको विरोध गरे पेन्सन रोक्ने प्रावधानलाई समेत समितिले पारित गरेपछि आन्दोलनको घोषणा गर्नुपरेको पोखरेलको भनाई छ ।

समितिले सहमति जुटाएको अर्को प्रावधानले सेवानिवृत्त निजामती कर्मचारीलाई सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत सरकार वा राज्यविरुद्ध द्वेष वा कलह बढ्ने र हिंसा भड्कने अभिव्यक्ति दिन रोक लगाएको छ । त्यस्तो पुष्टि भए उनीहरूको पेन्सन खोसिने व्यवस्था राखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पेस गरेको विधेयकको निवृत्तिभरण नपाउने भन्ने दफा ६३ मा यस्तो उल्लेख छ ।

अध्यक्ष पोखरेलले भने,‘यो विधेयकको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल समेत हुनुहुन्न । विभागिय मन्त्रीले असहमति राख्नुभएको छ । सरकारले स्विकारेको छैन । कर्मचारीसँंग पनि सोधिएन । सवै राष्ट्रियस्तरका कर्मचारी ट्रेड युनियनहरु मिलेर आन्दोलन घोषणा गर्छौ । समितिले पास गरेको ऐन पारित हुदैन । यो ऐन पास भए निजामती कर्मचारी रहदैन । समितिको सभापतिले जे भन्यो त्यही हुदैन ।’



प्रतिक्रिया दिनुहोस्