Logo

अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस



काठमाडौँ, १६ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्य तालिकामा हेरफेर गर्ने तयारी गरेको छ । काँग्रेसको आज दिउँसो बस्ने केन्द्रीय कार्य समितिको बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको प्रक्रियाका बारेमा छलफल हुने बताइएको छ । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकले काँग्रेसको १४औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गते नै गर्ने र अन्य अधिवेशनका तालिकामा हेरफेर गर्न सकिने बारेमा छलफल गरेको थियो । सो विषयमा केन्द्रीय समिति बैठकले आवश्यक छलफल गरी निर्णय गर्ने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहत निकायका अधिवेशन र १४ औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । सो तालिकाअनुसार २०७६ फागुन देखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेको थियो । तर कोरोनाका कारण क्रियाशील सदस्यता वितरण र नविकरण कार्य स्थगित गर्नुपरेको थियो ।

काँग्रेसले १४ औँ महाधिवेशनका लागि गाउँ÷नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्