Logo

स्वर्गद्वारी नगरपालिकाद्वारा सूचना प्रविधियुक्त उद्यान निर्माण कार्य शुरु



झिमरुक, १६ असार : स्वर्गद्वारी नगरपालिकाले सूचना प्रविधियुक्त आधुनिक उद्यान निर्माण शुरु गरेको छ । नगरक्षेत्रका पर्यटकीयस्थलका बारेमा जानकारीसँंगै नगरपालिका बारेमा जानकारी दिने उदेश्यले वडा नं ४ जिमुरपाटामा उद्यान निर्माण शुरु गरिएको हो ।

उद्यानमा चालु आर्थिक वर्षमा सभाकक्ष निर्माण गरिएको छ । प्रदेश सरकार र नगरपालिकाको रु एक करोड ६० लाख लागतमा सभाकक्ष निर्माण गरिएको नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए ।

बहुवर्षीय योजना भएकाले आधुनिक उद्यानमा पाँच वर्षसम्म प्रदेश सरकार र नगरपालिकाको सहयोगमा विभिन्न संरचना निर्माण हुने जनाइएको छ । उद्यानमा दृश्यावलोकन स्तम्भ, वनभोज क्षेत्र, मन्दिर, टेनिस र ब्याटमिन्टन कोर्ट, पार्किङ, सिँढीलगायत संरचना निर्माण गरिने तथा वृक्षरोपणसमेत गरिने योजन रहेको उनको भनाइ छ ।
धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीसँंगै सो क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर उद्यान निर्माणको थालनी गरिएको नगर प्रमुख रोका क्षेत्रीले बताए । उद्यान निर्माणपछि स्वर्गद्वारीसंँगै नजीकका माडी नदी, रोल्पाको चतुर्भुज, नमूना शहर भिङ्ग्री बजारलगायत क्षेत्र उपयोगी हुने जनाइएको छ ।

यसैबीच ऐरावती गाउँपालिका – ५ पकला टाकुरा रातोडाँडामा वनभोजस्थल र वडा नं ३ को कमिरेमा दृश्यावलोकनस्तम्भ निर्माण भइरहेको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनताको सक्रियतामा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनासहित वनभोजस्थल निर्माण गरिएको हो । पालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा बजेट विनियोजन गरी विभिन्न संरचना निर्माण गरेको छ । चालु आर्थिक वर्षमा पनि थप संरचना निर्माण र विस्तारको काम भइरहेको छ ।

पालिकाले स्थानीय उपभोक्ता समितिलाई पार्क निर्माणको जिम्मा दिई आर्थिक वर्ष ०७५÷०७६ मा रु २१ लाखको लगानीमा सडक निर्माण, घुम्न आउनेका लागि बस्ने बेञ्च र चौपारो निर्माण तथा सजावटको काम गरेको गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले बताए । त्यस्तै वनभोज खान र बस्नका लागि एक कोठासहित दुईदुई ट्रस र धारा तथा शौचालय निर्माण गरिएको छ ।

त्यस्तै पालिकाबाट चालु आवमा रु १० लाखको बजेट विनियोजन गरी पोखरी र ट्याङ्की निर्माण गरिएको वडाध्यक्ष चन्द्रबहादुर रोकामगरले बताए । वनभोजस्थलमा धुपी, सल्ला, दालचिनीलगायत तीन सय वृक्षरोपण गरिएको छ । स्थानीय उपभोक्ताको सक्रियता तथा गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा वनभोजस्थल बनाउन सफल भएको स्थानीयवासी शान्तराज श्रेष्ठले बताए । सो ठाउँमा हरितालिका र पञ्चमीका दिन ठूलो मेला लाग्छ ।

यस्तै कमिरेमा निर्माण भइरहेको दृश्यावलोकनस्तम्भका लागि पालिकाले अघिल्लो वर्ष रु १० लाख र चालु आवमा १० लाख बजेट विनियोजन गरेको छ । चालु आवमा वरिपरि पर्खाल लगाउने काम भइरहेको गाउँपालिकाका प्राविधिक प्रजापति ज्ञवालीले बताए ।रासस



प्रतिक्रिया दिनुहोस्