Logo

प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे स्थायी कमिटीमा छलफल



काठमाडौँ, १६ असार :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिएका पछिल्लो अभिव्यक्तिका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भन्ने अभिव्यक्ति दिएको विषयमा छलफल भएको हो । यसैगरी निर्वाचन आयोगमा नेकपा ९एमाले० नामको पार्टी दर्ताका लागि निवेदन परेको विषयमा पनि आजको बैठकमा छलफल भएको छ ।

बैठकको आरम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले व्यक्त गरेका भनाइका बारेमा अन्योल भएकाले स्पष्ट हुनुपर्ने जनाउँदै सो विषय छलफलमा प्रवेश गराएका थिए । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सो विषयमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ, वेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीमबहादुर रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट, भीम आचार्यसहित १८ जनाले विचार राखेका थिए । जवाफमा प्रधानमन्त्रीले आफूले बोलेका कुराबारे स्पष्ट पारेको र आफू पार्टीप्रति विश्वस्त रहेको जनाएका थिए ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्