Logo

लबिम मलद्वारा भाडामा ५० प्रतिशत छुट



काठमाडौं १६ असार। घरधनी र सपिङ महलहरुले भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् । तीन महिनाभन्दा बढी व्यापार, व्यवसाय ठप्प भएकाले सपिङ मल, पसल, कोठाको भाडामा बस्नेलाई घरधनीहरुले भाडा छुट दिन थालेका हुन् ।

लबिम मलले व्यवसायीलाई ३ महिनाको भाडामा ५० प्रतिशत छुट दिएको छ । चैत महिनाको भाडा फागुनमै दिएको हुनाले वैशाख, जेठ र असार महिनाको भाडामा ५० प्रतिशत छुट दिएको लबिम मलका लिज प्रबन्धक मोहम्मद अलिमले हुन् । ‘मलमा १ सय ५ वटा सटर छन् । लकडाउन खुकुलो भएयता सटर उघारेर व्यवसाय पुनः संचालनमा ल्याएकाहरूले कारोबार नहुँदाको अवस्थाको भाडामा घरधनीहरूले छुटको सहुलियत दिनुपर्ने माग गरिरहेका थिए ।

उपत्यकाको भक्तपुर, काठमाडौं र ललितपुरका बिभिन्न स्थानमा सटर भाडामा लगाएका घरबेटीहरू छुट दिने प्रतिबद्धता जनाउन नेपाल राष्ट्रिय व्यापार व्यवसायी महासंघको कार्यालयमा सम्पर्क राख्न पुगिरहेका छन्। न्युरोड र ठमेलमा सटर हुनेहरुमध्ये ५० प्रतिशत घरबेटीले व्यवसायी महासंघमार्फत छुट दिने सुरू गरेका छन् । लकडाउनको अवधिभरका लागि व्यवसायीले भाडामा पुरै छुट दिन माग गरिरहेका थिए । केही दिनयता घरबेटीले आफैं आएर कसैले एक महिना, कसैले दुई (तीन र कसैले चार महिनाको भाडामा ५० प्रतिशत छुट दिने प्रतिबद्धता गरिरहेको नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कटुवालले बताएका हुन् । महासंघले घरबेटीहरूसँग लकडाउन अवधिको भाडामा छुटको सहुलियत दिन आह्वान गरेको थियो। ’आइतबारमात्रै १० जना घरबेटीले आएर छुट दिन्छौं भन्नुभयो,’ अध्यक्ष कटुवालले भने,’ ’विस्तारै छुट दिनेको संख्या बढ्दैछ।’ ठमेल, न्युरोड, वानेश्वर र कोटेश्वर मात्र नभइ उपत्यकाको बिभिन्न स्थानका ठूला व्यापारिक मलले पनि भाडा छुट दिन थालेको छन् ।े कतिपयले भाडा छुट दिने विषयमा छलफल गरिरहेका छन् । तीन महिना बन्द रहेको व्यापारिक गतिविधि असार १ देखि पुनः संचालनमा आए पनि कारोबारले अपेक्षित गति लिन सकिरहेको छैन, व्यवसायीले बताए । उपत्यकाका बिभिन्न स्थानमा कारोबारको अवस्था अनुसार सटर तथा व्यापारिक भवनको भाडा मासिक न्युनतम १० हजारदेखि १० लाख रूपैयाँसम्म छ ।

उपत्यकाका व्यापारिक मलहरूमा कारोबार गर्ने व्यवसायीलाई भाडामा कस्न मिल्ने अवस्था नभएको कम्पनी इभेन्ट नेपालका संचालक हिरामणि तिमिल्सिनाले बताए । ’कसैले पनि भाडा कति उठ्छ भन्ने क्यालकुलेसन गरेको अवस्था छैन,’ उनले भने, ’व्यापार नभएको यो अवस्था कहिलेसम्म जान्छ भन्ने टुंगो नभएकाले मलहरूले सहमतिअनुसार चल्नुपर्छ ।’ भाडा छुट दिनेरनदिने विषयमा भने आधिकारिक निर्णय भने हुन बाँकी रहेको उनले बताएका छन् । ‘यतिबेला मलले व्यापारी बचाउने र व्यापारीले पनि मललाई बचाउने बेला भएकाले सबैसँग समन्वय गरेर मात्रै निर्णय हुनेछ,’ उनले भने । विश्वज्योति मल, वीजी मल र के एलमा टावरमा पनि भाडा छुटको विषयमा छलफल भइरहेको व्यवसायीले बताएका छन्। लकडाउन खुकुलो भए पनि केही व्यवसायीले अझैसम्म पसल खोलिसकेका छैनन् ।

व्यवसायीका अनुसार ७५ प्रतिशत व्यापारिक आउटलेटहरु खुलिसकेको भए पनि ग्राहक आइरहेका छैनन् । व्यापार नभएकाले व्यवसायी भाडाको बढ्दो बक्यौता कसरी चुक्ता गर्ने भन्ने चिन्तामा छन् । सिभिल मलमा पनि भाडा छुट सम्बन्धि छलफल भइरहेको छ । तर, कति छुट दिने भन्ने निर्णय हुन् बाँकी रहेको मलका महाप्रबन्धक विश्वप्रकाश मास्केले बताए । ‘हामी छिटै टुंगोमा पुग्छौं,’ उनले भने । ठमेलको छायाँ सेन्टरमा भाडा छुट सम्बन्धी कुनै कुरा नभएको प्रबन्ध निर्देशक सुमन पाण्डेले बताए ।



प्रतिक्रिया दिनुहोस्