Logo

नेकपामा चरम कलह



काठमाडौं, असार १७ । सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’

प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर दाहालले भने, ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा ।’

‘पार्टीका नेताहरू कुण्ठा पालेर अत्यन्तै पूर्वाग्रही भएर हिँड्न थाल्नु भएको छ । सरकारलाई घेराबन्दी गर्नु, काम गर्न नदिर्नु पार्टी नेताहरूको पूर्वाग्रह हो’, ओलीको जवाफ थियो, ‘सरकारले के कति काम गरेको छ म फेहरिस्त राख्न सक्छु । पूर्वाग्रह राख्ने काम नेताहरूले गर्नु हुँदैन ।’

दाहाललाई वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका थिए । उनीहरूले पनि प्रधानमन्त्री ओलीले सरकार र पार्टीका दुवै नेतृत्व नैतिकताका आधारमा छोड्नुपर्ने माग राखे । दुई दिन वि श्राम लिएर पार्टी बैठकमा सहभागी हुन निर्धारित समयमै मंगलबार बिहान ११ बजे स्थायी समिति सदस्यहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली भने बैठक सुरु नगरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गए । झन्डै ४५ मिनेटपछि मात्र उनी बालुवाटार फर्के । र, बैठक सुरु भयो । अघिल्ला बैठकमा भन्दा फरक नेताहरूको कुर्सी स्थायी समितिका सदस्य बसेकै मञ्चको तल्लो लहरमा झारिएको थियो । अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्