Logo

संशोधित नागरिकता विधेयक फिर्ता लिन कांग्रेसको माग



काठमाडौं, असार १७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान र प्रचलित व्यवस्था विपरित राज्य व्यवस्था समितिबाट नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले विधेयक प्रचलित व्यवस्था र संविधान विपरित रहेको ठहर गरेको हो ।

पार्टीको १४औं महाधिवेशन र राज्यव्यवस्था समितिले पारित गरेको नागरिकता विधेयकका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्था विपरित र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यता विपरितको कांग्रेसले ठहर गरेको छ ।

नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलताहरु समेत सृजना हुन सक्ने प्रबल सम्भावना रहेको औल्याउँदै कांग्रेसले,‘यो बैठक सरकारले प्रस्तुत गरेको संविधान विपरीतको नागरिकता संशोधन विधेयक फिर्ता लिन माग गर्दछ ।’

राज्य व्यवस्था समितिमा पार्टीका सांसदहरुले फरक मत राखीसकेको उल्लेख गर्दै कांग्रेसले भनेको छ,‘यसै अनुसार संसदमा प्रस्तुत हुन यो बैठक नेपाली कांग्रेस संघीय संसदीय दललाई निर्देश गर्दछ ।’

बैठकमा बोल्ने अधिकांस सदस्यहरूले कानुन कहिल्यैपनि पश्चगामी हुन नसक्ने भन्दै सरकार र सत्तारुढ दल पछाडि फर्कन लागि परेको आरोप लगाएका थिए ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्