Logo

मध्यपहाडी लोकमार्गको बेहाल



गलकोट, असार १७ । कालोपत्र हुन नसकेको मध्यपहाडी लोमार्गको बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल भएको छ । बर्सातले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् ।

राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी लोकमार्ग आयोजना समयमा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुक्खा मौसममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको अधिकांश भाग कालोपत्र भइसक्दासमेत सुगम मानिने जिल्ला सदरमुकाम नजिकै लोकमार्ग अलपत्र अवस्थामा छ । वर्षाभर हिलाम्मे भएर सडक अवरुद्ध हुने समस्या भोगेका यात्रुहरुले हिउँदको समयमा सडक छेउमा थुपारिएका माटोसहितको ग्राभेलका कारण धुलाम्मे भएर सास्ती खेप्नुपरेको यात्रु कुविरबहादुर क्षेत्रीले बताए।

जिल्ला सदरमुकामसँग जोडिएको घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्र नहुँदा बर्खाको समयमा सास्ती खेप्नुपरेको हो । निर्माण शुरु भएको दुई दशक बितिसक्दासमेत ग्राभेलको काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने यात्रु तथा सवारी चालक बताउँछन् । पछिल्लो समय अक्षेते–घोडाबाँधे खण्डमा कालोपत्र गर्नका लागि ग्राभेलको तयारी भए पनि सदरमुकामसम्म जोडिएको उपल्लाचौर–अक्षेते खण्डमा निर्माण कम्पनी सम्र्पकमा छैन ।

नेपालको पूर्वपश्चिम जोड्ने पहाडी मार्गका रूपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको विसं २०७६ कात्तिक मसान्तसम्म काम सम्पन्न गर्ने गरी विसं २०७३ मा सम्झौता भएको थियो तर समयमा सम्पन्न नभएपछि पुनः म्याद थप गरिएको छ । ठेकेदारको लापरवाही र सरोकारवाला निकायको उदासीनताका कारण पनि समयमा काम नभएको स्थानीयवासी बताउँछन् ।

बुर्तिबाङबाट ६७ किलोमिटर सडक दुई घण्टामा पार गरेर घोडाबाँधे आएका सवारीलाई त्यहाँबाट २५ किलोमिटरको दूरीमा रहेको सदरमुकाम आउन अहिले दुई घण्टाभनन्दा बढी लाग्ने गरेको सवारी चालक सनबहादुर रोकाले बताए । “सडक जीर्ण र हिलाम्मे भएका कारण सवारी चलाउनै मुस्किल छ”, रोकाले भने, “बाटो राम्रो नभएपछि दैनिक गाडी बिग्रने गर्छ, आम्दानीभन्दा खर्च धेरै हुन्छ, न समयमै पुग्न सकिन्छ ।” बर्खायाममा सडक तल र माथिबाट पहिरो जाने, सडकमा ठूला–ठूला खाल्डा पर्ने कारण सास्ती भएको हो । निर्माण कम्पनीले बन्दाबन्दीको बहानामा सडक निर्माणमा नलाग्दा सडकबाटै बग्ने भेलले सडक क्षतविक्षत बनेको छ ।

पटक–पटक संसद्देखि विभिन्न स्थानमा लोकमार्गको ढिलाइका विषयमा ध्यानार्कषण गर्दासमेत सुनुवाइ नभएको बागलुङका सङ्घीय सांसद डा सूर्य पाठकले बताए । अलपत्र बनेको सदरमुकाम बागलुङ बजारबाट बिहुँसम्मको १३ किलोमिटर सडकको जिम्मा सिद्धिसाई कन्स्ट्रक्शन र बिहुँदेखि घोडाबाँधेसम्मको सडकको जिम्मा सूर्य कन्स्ट्रक्शनले लिएको छ ।

कूल एक हजार ७७६ किलोमिटरको यस लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । सोमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ । बिहुँ खण्डमा सन्तोषजनक काम भए पनि तल्लो खण्डमा ठेकेदार कम्पनीले काम गर्न नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताए। रासस



प्रतिक्रिया दिनुहोस्