Logo

प्रधानमन्त्री ओलीलाई भेटेपछि योगेश भट्टराईको पत्रकार सम्मेलन, दिए यस्तो सुझाव



काठमाडौं, १७ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएसँगै ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरु र मन्त्रीहरुसँग छलफल तथा परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा ओलीले आफूलाई पार्टी नेतृत्वबाट घेराबन्दी गरिएको र अपमान गरिएको गुनासो पोखेका थिए । परामर्शमा बरिष्ठ नेता माधव कुमार नेपाल खेमाका मन्त्रीद्धय घनश्याम भुषाल र योगेश भट्टराईसमेत सहभागी थिए । उनीहरुले पार्टीको निर्देशन र निर्णयलाई सर्वोपरि मानेर अघि बढ्न र पार्टी एकता जोगाउनको लागि गम्भिर भएर अघि बढ्न सुझाव दिएका थिए ।

 प्रधानमन्त्री ओलीसँगको परामर्शलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । उनले पत्रकार सम्मेलनमा बोलेको कुराको सारसंक्षेप:

सबैलाई थाहा छ कि अहिले नेकपाको स्थायी कमिटी बैठक चलिरहेको छ । यो बैठकमा केही कार्यसुचिहरु छन् । हिजोको बैठकमा यो कार्यसुचिको अलावा अहिलेका केही ज्वलन्त विषयहरुमा छलफल भयो । र, त्यो छलफलको क्रममा मूलतः पार्टीका बरिष्ठ नेताहरुको बीचमा नै, पार्टीका दुई अध्यक्षका बीचमा, बरिष्ठ नेताहरुको बीचमा, र अरु स्थायी कमिटीका साथीहरुका बीचमा अलिकति आरोप्रत्यारोप गर्ने काम भयो । र, त्यसले बैठकलाई धेरै संवेदनशील पनि बनायो । र, सिंगो देशभरका पार्टी सदस्यहरु स्तब्ध भए । नेपाली जनता स्तब्ध भए । यो अवस्थामा अब पार्टीलाई कसरी अगाडि बढाउने ? र, हिजोको बैठकको सिन हेर्दाखेरि नेकपा एउटा निकै नै आन्तरिक हिसाबले संकटमा छ भन्ने कुरा सहज रुपमा बुझिन्छ । र, यसको संकटको समाधान स्वयम पार्टीले नै नखोजी अरु कसैले यसको समाधान गरिदिने होईन् ।

सम्भवतः यही ऐतिहासिक जिम्मेवारीलाई महशुस गर्दै अब पार्टीका समस्यलाई कसरी हल गर्ने त ? भन्ने सन्दर्भमा सबैभन्दा बढि जिम्मेवारी पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हुन्छ । र, त्यसपछि अर्को अध्यक्षको हुन्छ । अनि क्रमबद्ध हिसाबले अरु बरिष्ठ नेताहरुको हुन्छ । र, हामी सबैको हुन्छ । यही सिलसिलामा आज विहान सम्माननीय प्रधानमन्त्रीज्यूले पार्टी स्थायी कमिटीका केही सदस्यहरुलाई आफ्नै निवास बालुवाटारमा पार्टीको यो स्थितिको बारेमा परामर्श गर्नको निम्ति बोलाउनुभयो । उहाँले पार्टीभित्र चुलिँदै गएको समस्या, अन्तरविरोधका कुराहरुलाई पनि सविस्तार राख्नुभयो । कुन कुन नेताहरुको बीचमा कसरी छलफल हुँदै आएको छ ? भन्ने कुरापनि राख्नुभयो । घट्नाक्रम पनि राख्नुभयो । र, त्यसक्रममा सहभागी स्थायी कमिटी सदस्यहरुले पार्टी एउटा संकटमा छ, तर ऐतिहासिक हिसाबले हामीले जुन जनमत पाएका छौं । त्यो जनमतको रक्षा गर्नुछ । पार्टी एकतालाई अझै सुदृढ गर्नुछ । यस्तो बेलामा मूलतः नेताहरुको बीचको एउटा एकताबद्ध अवस्थाले मात्रै पार्टीलाई थप सुदृढ गर्न सक्छ । त्यो हुँदा पहिलो कुरा त पार्टीभित्र यो जुन ब्लेम गेम चलिराखेको छ। प्रोक्सी वार चलिरहेको छ । यो ब्लेम गेम र प्रोक्सी वार बन्द गर्न हामीले सुझाव राखेका छौं ।

नम्बर दुई, घटनाक्रम हेदा पार्टीको उच्च नेतृत्व तहमा एउटा चरम विश्वासको संकट उत्पन्न भएको देखिन्छ । त्यस सन्दर्भमा हामीले भन्यौं कि यसको समाधानपनि तपाईहरुले आपसी सम्वाद र विमर्शबाहेक अन्यत्र खोज्न सकिँदैन् । पहिलो कुरा दुई अध्यक्षबीच एउटा राम्रो र हार्दिक सम्बन्ध हुनुपर्यो । साथै, पार्टीको सचिवालय भनेर जुन हामीले टिम बनाएका छौं । बरिष्ठ नेताहरु हुनुहुन्छ । उहाँहरुको बीचमा राम्रो सम्बन्ध हुनुपर्यो । स्थायी कमिटीको बीचमा राम्रो सम्बन्ध हुनुपर्यो । र, सिंगो केन्द्रीय कमिटीमा पनि एउटा हार्दिक र कमरेड्ली भावना विकास गर्नुपर्यो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्