Logo

ओली प्रधानमन्त्री बन्न योग्य रहनुभएन, नेकपाले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाओस् : पौडेल (भिडिओसहित)



काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । वर्तमान प्रधानमन्त्री ओलीले खाली बोलिरहने र काम केही पनि नगर्ने गरेकोले मुलुकले केही पनि प्राप्त गर्न नसकेको उनको आरोप छ ।  बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले नेकपाले प्राप्त गरेको जनमत ऐतिहासिक भएको भन्दै सो जनमतअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले भने,’बास्तवमा यो गणित जुन आज संसदमा प्राप्त भएको छ, यो कुनैपनि देशमा विरलै प्राप्त हुन्छ । यो व्यवस्थामा झण्डै दुई तिहाई नजिकको गणित नेकपाले प्राप्त गरेको थियो । नेकपाले प्राप्त गरेको यो जनमत सायद अरुले प्राप्त गरेको छ । प्रदेश सरकारको कुरा गर्दापनि ७ वटामध्ये ६ वटामा नेकपाको सरकार छ । जनताले यो भन्दा बढि समर्थन कसैलाई दिन सक्दैनन् । म प्रश्न गर्न चाहन्छु जनताले कतिसम्म समर्थन गर्यो भने यो सरकारले काम गर्ने हो ? ‘

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पौडेलले वर्तमान प्रधानमन्त्री ओलीले नक्सा पारित गरेको पर्दाभित्र आफूले गरेका सबै कुकृत्य लुकाउन खोजिएको आरोप लगाएका छन् । वर्तमान सरकारले जनताको जनजीवन उकास्न केहीपनि काम नगरेको उनको भनाई छ । उनले भने,‘कोभिड नियन्त्रणको लागि केहीप्नि नगर्ने, अनि सबै कुरा नक्सा जारीमा देखाउन खोज्ने । यसकै पर्दाभित्र धेरै नराम्रा काम भए । यो सरकारले कोभिड १९ नियन्त्रण गर्न सकेन् । मैले पूर्वाग्रही भनेर भनेको होईन् । कोभिडको जोखिमका बावजुदपनि सरकारको विरोधमा सडकमा विरोध तथा प्रदर्शन भैरहेका छन् । प्रतिपक्षको पनि सरकारले धेरै सहयोग प्राप्त गरेको स्थिति हो । यति धेरै सहयोग प्राप्त हुँदापनि यो सरकारले केहीपनि गर्न सकेन् ।’

उनले प्रधानमन्त्री ओलीले भारतबाट नेपाल आउने नेपालीहरुलाई नआउ भनेर अभिव्यक्ति दिएको उल्लेख गर्दै भने-‘बरु उहाँले के भन्नुपर्दथ्यो भने म तपाईहरुलाई बोलाउँछु । धैर्यतासहित अहिले त्यहीँ बस्नुहोस । म घर पुर्याउँछु भन्नुपर्दथ्यो । प्रधानमन्त्रीले यति भनिदिएको भए कोरोना नियन्त्रणमा सहयोग पुग्दथ्यो । तर, उहाँको अभिव्यक्तिका कारण आज कोरोना नियन्त्रण हुन सकेन् ।’

उनले सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा देशभरिका क्वारेन्टिन भेडाबाख्राको खोरजस्तै भएको पनि टिप्पणी गरे । उनले भने,‘क्वारेन्टिमा भौतिक दूरी कायम गर्न सकिएको छैन् । सरकारले स्थानीय सरकारहरुलाई साधन स्रोत उपलब्ध गराएन । कोभिड-१९ कोषमा जम्मा भएको पैसा तल दिएको भए हुन्थ्यो नि । कोभिड नै नआएकोजसरी बजेट ल्याईयो । सरकारले रोजगारी सुनिश्चित गर्ने बजेट ल्याउन सकेन ।’ लाखौंको संख्यामा युवाहरु विदेशबाट नेपाल आउने उल्लेख गर्दै उनले यस्तो अवस्थामा रोजगारीको लागि कृषि वैकल्पिक क्षेत्र भएकोले सोहीअनुसार सरकारले योजना र कार्यक्रम ल्याउनुपर्ने थियो भन्ने धारणा राखे ।

सरकारले प्रकाशित गरेको निर्देशिकाअनुसार लक्षण नभएकालाई अब क्वारेन्टिनमा बसेकाहरुलाई कोरोना नै परीक्षण नगरी घर पठाउने भनिएको पनि उनले आक्रोश पोखे । उनले भने,‘क्वारेन्टिनमा बसेकाहरु फेरि परीक्षण नगरी घर पठाउने कुरा छ, सरकारको उपस्थ्तिि कहाँ देखियो । राहत कसलाई दिने हो ? त्यो पनि छनौट गरेको देखिएन । सामान्य व्यवसायदेखि ठूला उद्योग तथा व्यवसायलाई पनि सहयोग गर्न सकेन् । नेपालजस्तो कडा लकडाउन संसारमा अरु कतै छैन् । कोरोना नियन्त्रण होईन, दिनदिनै बढिरहेको छ।’

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले साउनमा ४० हजारसम्म संक्रमित पुग्ने उल्लेख गरेको सुनाउँदै पौडेलले कोरोना संक्रमण बढिरहेको अवस्थामा एक लाखसम्म देखिने अवस्था पुग्ने आँकलन गरे । उनले भने,‘अझै मास लेभलमा परीक्षण भएकै छैन् । आफ्नै निकायले आरटिडी किनेको किनै गर्ने ?’ उनले कोभिड नियन्त्रणमा पनि प्रधानमन्त्री अ‍ोली असफल भएको दाबी गरे ।

उनले थपे,‘उहाँले यो बीचमा अध्यादेश ल्याउनुभयो । पार्टी फुटाउनको लागि । प्रतिपक्षी दललाई संवैधानिक परिषदमा नराख्नेतर्फ लाग्नुभयो । मलाई भारतले फाल्न खोज्दैछ भन्नुभयो । नक्सा जारी गरेपछि फाल्न खोजियो भन्नुभयो । त्यो कुरा संविधानमा व्यवस्था छैन् । संसदमा बहुमत समर्थन जुटाउने प्रधानमन्त्री बन्ने हो । नेकपाको मात्रै झण्डै दुई तिहाईको बहुमत छ । कि त प्रधानमन्त्रीले भन्नुभयो ? मेरो पार्टीका नेता तथा सांसद भारतका एजेण्ट हुन भन्नुपर्यो । यस्तो अभिव्यक्ति उहाँले दिनुभयो । कुटनीतिक हिसाबले यस्तो अभिव्यक्ति किमार्थ दिन हुँदैन् ।’

नेपालका नयाँ नक्सा पारित गर्दा त्यसको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको कुरामा आफूहरुले प्रशंसा गरेको पनि उनले सुनाए । तर, प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने क्रममा ‘सिंह मयते जयते’ किन भन्नुभयो र भारतलाई किन चिढ्याउनुभयो ? भन्ने पौडेलको प्रश्न छ ।

उनले अघि थपे,‘के नेकपाभित्र भएका सबै मान्छे भारतका दलाल हुन ? त्यसैले प्रधानमन्त्रीले आफ्नो मर्यादा कायम गर्न सक्नुभएन । उहाँमा मानसिक अन्तुलन देखियो । वार्ता गर्नुपर्ने छ भारतसँग । भारतलाई टेबुलमा नआउ भनेर अभिव्यक्ति दिने ? यसले देशलाई असर गर्छ ।’

आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले राम्रोसँग नेतृत्व गर्न नसकेको भनेर यसअघि नै निश्कर्ष निकालेको पनि उनले स्मरण गराए । उनले भने,‘हामीले पहिल्यै नै यो निश्कर्ष निकालेका हौं । केपी ओलीभन्दा योग्य मान्छे नेकपाभित्र को छ ? ल्याउनुहोस् । हामी सरकारमा जाने र बनाउने हैसियत पनि छैन् । उहाँको कार्यशैली ठिक भएन् । आज ओलीजीमात्रै असफल होईन, संसदीय व्यवस्था पनि असफल हुन्छ । त्यही भएर प्रधानमन्त्री फेर्नुहोस भनेको हो ।’

पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको कार्यशैली र योग्यताको बारेमा प्रश्न पहिल्यै उठाईसकेको सुनाए । उनले थपे,‘कांग्रेस ५ वर्षको लागि सरकारमा जाँदैन् । हामीलाई यो म्याण्डेट प्राप्त छैन् । नेकपाले नै हो सरकार चलाउने । देउवाले सत्तामा जाने चेष्टा गर्नुभयो भने उहाँले पार्टीबाट समर्थन पाउनुहुुन्न ।’

उनले सरकारको कार्यशेलीका कारण आफूहरु सडकमा जानुपर्ने पनि सुनाए । यस्तो अवस्थमा पनि कांग्रेसले प्रतिपक्षी नै नभएकोजस्तो गरि समर्थन गरेको उनले स्पष्ट पारे । उनले भने, अब हामी सडक आन्दोलनको कार्यक्रम ल्याउँछौं । आन्दोलनको कुनै विकल्प छैन् । प्रधानमन्त्री हुने भनेको जिम्मेवार व्यक्ति हो । उहाँमा अहंकार देखियो । कसैलाई पनि नमान्ने र सम्झौता नगर्ने प्रवृत्ति देखियो । यसले राष्ट्रले दुःख पाउँछ । उहाँका अभिव्यक्ति जसरी आए, उहाँकै पार्टीबाटपनि उहाँले समर्थन प्राप्त गर्न सक्नुहुन्न ।

भारत र चीन नेपालका मित्रराष्ट्र भएको उल्लेख गर्दै द्धिपक्षीय सम्बन्धमा देखिएका समस्या आपसमा बसेर मिलाउन जरुरी रहेको पनि उनले स्पष्ट पारे । उनले केपी ओली प्रधानमन्त्री रहेसम्म सिमा विवाद समाधानको लागि भारतसँग वार्ता नै नहुने ठोकुवा गरे । उनले भने,‘उहाँले संसदमा बोल्दा दुई घण्टा बोल्नुभयो, बेसार विज्ञ बन्नुभयो । उहाँको शैली र कार्यशैली जुन छ, त्यसले सबैको अपमान गरेको छ । आधारभुत आवश्यकत्तापनि उहाँले गुमाउन थाल्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्