Logo

आइजीपी भवन उद्घाटन गरिरहँदा ललितपुरको हिरासतको शौचालयमा बलात्कारका आरोपीको आत्महत्या



ललितपुर, १७ असार । नेपाल प्रहरीका आइजीपी ठाकुरप्रसाद ज्ञवाली पाँच महिने कार्यकाल पूरा गरी १२ दिनपछि सेवानिवृत्त हुँदैछन् । जाँदा जाँदै उनले भवन उद्घाटनलाई गति दिएका छन् । निश्चयपनि आफ्नो नाम भवनहरुमा लेखाउने आतुरता आइजीपीहरुमा रहँदै आएको छ । यस्तै हुटहुटी चलेर भवन पूरा नहुँदै ज्ञवालीले उद्घाटन गर्ने चाहना गरे । तर, भवन उद्घाटनकै क्रममा दुःखद घटना घट्यो ।

महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित भवन उद्घाटन गर्दै थिए आइजीपी ज्ञवाली । भित्र भने शौचालयमा एकजना हिरासतमा राखिएका अभियुक्त झुण्डिएछन् । उद्घाटन हुँदै गर्दा खबर आएपछि केही प्रहरी त्यतातर्फ लागे । उनले तन्नाको पासो बनाएर झुन्डिएको प्रहरीले जानकारी दिएको छ । अभियुक्तलाई हतार हतार अस्पताल लगियो । तर, विहानै पाटन अस्पतालले उनलाई मृत घोषित गर्यो ।

झुडिएर आत्महत्या गर्नेमा सप्तरीका दुर्गेश यादव थिए । २४ वर्षीय उनलाई ग्वार्कोबाट पक्राउ गरेर पाँच दिन अनुसन्धानका लागि राखिएको थियो । बलात्कारको अभियोगमा १४ असारमा यादव पक्राउ परेका थिए । तर, उनले आफू निर्दोष भएको र यस्तो आरोप खेपेर बस्न नसक्ने भन्दै सुसाइड नोट लेखेका छन् ।

सुसाइट नोडको सबैभन्दा माथि अंग्रेजीमा ‘मैंले बलात्कारको प्रयास गरेको होइन, भगवान मेरो रक्षा गर !’ लेखिएको छ । उनले लगत्तै नेपालीमा लेखेका छन्, ‘मैंले कसैलाई रेप गरेकै छैन, म त्यस्तो मान्छे होइन, मलाई आरोप लगाइएको छ । म नराम्रो सोचको मान्छे होइन । यस्तो आरोप सहेर बाँच्न सक्दिनँ । म यो दुनियाँबाट बिदा हुन गइरहेको छु ।’ कागजमा सुसाइड नोट लेखेर धेरै ठाउँमा हस्ताक्षर समेत गरको छन् ।

यादवमाथि १७ वर्षीया युवतीले आफूमाथि जर्बजस्ती प्रयास गरेको भन्दै उजुरी गरेकी थिइन् । राति साँढे १० बजेतिर जर्बजस्ती करण गर्न खोजेको आरोप लगाएकी थिइन् । स्वास्थ्य सहायक रहेका यादव कोटेश्वरमा बस्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्