Logo

नेकपामा प्रधानमन्त्री ओलीको विकल्प कोही हुनैसक्दैनन्, हाम्रो पुस्ताले हस्तक्षेप गर्छ : थापा (भिडिओसहित)



काठमाडौं, १७ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कर्णबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने भन्ने कुरा नै असान्दर्भिक भएको स्पष्ट पारेका छन् । उनले भने,‘यो राष्टका निम्ति, पार्टीका निम्ति र नेपाली जनताका निम्ति असान्दर्भिक छ । र, अहिले हामीले अवलम्बन गर्दै आएको लोकतान्त्रिक गणतन्त्र, र त्यो लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित् गर्ने हाम्रो संवैधानिक व्यवस्था छ । यो कुनैपनि चिजसँग अहिलेको राजीनामा सान्दर्भिक छैन् ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले आफूहरु विधिको शासनमा रहेको र संविधानको सर्वोच्चता मान्दै आएको सुनाए । २०१५ सालमा विपी कोइरालाको नेतृत्वमा दुई तिहाईको सरकार बनेको स्मरण गराउँदै उनले नेपाली जनताले अहिले केपी शर्मा ओलीको नेतृत्वलाई झण्डै दुई तिहाई बहुमत दिएको स्पष्ट पारे । उनले जुन दलले ऐतिहासिक बहुमत प्राप्त गर्छ त्यो दललाई अन्य दलभन्दापनि आफ्नै दलभित्रबाट सरकारलाई असहयोग हुने गरेको पनि ईतिहास सुनाए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्नेगरि अघि बढ्नुपर्नेमा उनको जोड छ । उनले अहिले एकले अर्कोलाई खुट्टा तान्ने काम गर्न नहुने जिकिर गरे । उनले नेकपाभित्रबाटै केपी ओलीको राजीनामा मागिनु असान्दर्भिक भएको स्पष्ट पारे । उनले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेकपा नेतृत्वलाई प्रश्न गरे,‘के राजीनामा भनेको यस्तै खेलवाड हो ? राजनीति भनेको प्रश्न खडा गर्नेमात्रै हो र ? कि समस्या समाधान गर्ने ढंगले सोच्ने हो ?’

थापाले ओलीको राजीनामा मागिनुलाई शतप्रतिशत गलतको संज्ञा दिँदै त्यो नेपाली जनमतमाथिको अपमान भएको पनि टिप्पणी गरे । अहिले नेपाली कांग्रेसलाई आफूले दोष नदिने भन्दै बरु उसले देखाएको लोकतान्त्रिक चरित्र र राम्रो र असल प्रतिपक्षी भएकोले उनले धन्यवाद भने । उनले वर्तमान सरकारले कुनै त्यस्तो मुद्दा नछोडेको जसले कांग्रेसलाई सडकमा जान बाध्य बनाओस भनेर पनि उल्लेख गरे । अहिलेको सरकारलेजस्तो बलियो र सुमधुर परराष्ट्र सम्बन्ध अरु सरकारले नराखेको पनि उनको दाबी छ । वर्तमान प्रधानमन्त्री यो मामिलामा हलुका नभई गम्भिर भएको उनको भनाई छ ।

पूर्वमन्त्री समेत रहेका नेता थापाले वर्तमान प्रधानमन्त्री ओलीको विकल्प अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल हुनैनसक्ने जिकिर गरे । उनले भने,‘पहिलो पुस्ताले जे जति गरे, अब केपी ओलीपछि मैले जे जति नाम अहिले उच्चारण गरें। अब यी नामले नेतृत्व गर्न सक्दैनन् । नेकपामा अब ४० देखि ६० वर्षको दोस्रो पुस्ता छ, अब यही पुस्ताले देश चलाउने नेतृत्व र क्षमता राख्छ । म आज सार्वजनिक रुपमा दोहोर्याएर भन्दैछु अब नेकपामा हाम्रो पुस्ताले हस्तक्षेप गर्छ ।’

उनले वर्तमान प्रधानमन्त्री ओली पार्टीको कुनै मोर्चामा अल्पमतमा नरहेको दाबी गरे । उनले भने,‘उहाँ अल्पमतमा हुनुहुन्छ भनेर हल्ला गरिएको छ । म चूनौति दिन्छु यही स्थायी कमिटी बैठकमा निर्णय गर्नुहोस न त । किन हल्ला गर्नुहुन्छ ? किन टेलिभिजनमा आएर बोल्नुहुन्छ ? बहुमत भए देखाए भैगयो नि ।’



प्रतिक्रिया दिनुहोस्