Logo

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पद छाड्न भन्ने, नमाने हटाउने विरोधी समुहको रणनीति



काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद निर्णायक मोडतर्फ बढेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनीइतरका नेताहरुले वार कि पारका लागि रणनीति तय गरेपछि विवाद निर्णायक मोडमा पुगेको हो ।

भोलि बस्ने स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओली र उनीविरोधी समुहले दिनभर परामर्श गरी रणनीति तयार गरेका छन् । आज विहानै ओलीले बालुवाटारमा आफू निकटस्थ स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरे । उनले आफूलाई सहयोग गर्न आग्रह गरे । तर, रणनीतिबारे भने केही खुलाएनन् । यद्यपि, ओलीले संकटकाल, मध्यावधि चुनावको घोषणा, नयाँ दल दर्तासम्मको विकल्पबारे छलफल चलाएको बुझिएको छ । नेकपा एमाले दल त दर्ता प्रक्रियामा छ ।

ओलीको संसदीय दलमा बहुमत रहेको दाबी छ । उनले संसदीय दलबाट निर्णय गर्न चुनौती दिनसक्ने सम्भावना पनि छ । पार्टीका अन्य कमिटिलाई ओलीले बेवास्ता गर्ने सम्भावना बलियो छ ।

यसैगरी, आज साँझ सानेपाको अगेनोमा ओली हटाउन सक्रिय समुहको छुट्टै भेला भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्यहरु रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठका अलावा उक्त समुहका स्थायी कमिटी सदस्यहरु सहभागी थिए । उक्त भेलाले ओलीलाई सत्ताबाट हटाउन एकजुट भएर जाने निर्णय लिएको बुझिएको छ । त्यसैले भोलि बस्ने बैठक निर्णायक हुनसक्छ ।

ओलीविरोधीले भोलि उनलाई पद छाड्न लगाउने नभए पदबाट हटाउने निर्णय लिनसक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । यसको सम्पूर्ण तयारी भइसकेको छ । ओलीको पार्टी कमिटीहरुमा अल्पमत छ । उनले चाल्न सक्ने कदमलाई दृष्टिगत गरी आवश्यक तयारी समेत गरिएको स्रोतले बतायो ।

भोलि बैठकमा ओलीलाई पदबाट हट्न मनाउने नभए हटाउने सम्मको तयारी भएपछि नेकपाभित्र दुर्घटनाको खतरा बढेको छ । अब कि ओलीले सत्ता छाड्ने कि सहमतिमा ल्याउने कि नयाँ कदम चालेर बढ्ने विकल्प मात्र बाँकी छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्