Logo

‘तरवार र खुँडा लिएर सिंहदरबार घेर्ने चेतावनी’



मुकुन्द कालिकोटे : काठमाडौं, १८ आषाढ । उपत्यका ट्याक्सी विषेश समितिका अध्यक्ष सूर्य तामाङले ट्याक्सी व्यवसायीहरुका माग तत्काल सम्बोधन नगरिए तरवार र खुँडा लिएर सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । तामाङ्ले सरकारले ट्याक्सी व्यवसायीहरुको आन्दोलनलाई बेवास्ता गरेर रोजी–रोटी खोस्न खोजेको आरोप लगाउँदै यस्तै हो भने १२३८५ ट्याक्सी व्यवसायीहरु बाध्य भएर तरवार र खुँडा लिएर सिंहदरबार घेर्ने चेतावनी दिएका हुन् ।

यातयात व्यवस्था विभाग मीनभवन अगाडि हजारौं ट्याक्सीहरु लाममा राख्दै धर्नामा बसेका व्यवसायीहरुलाई सम्बोधन गर्दै तामाङले भने,’राता प्लेटका गाडिहरुले रात–विहान नभनी आफ्नो मान्छेहरु ओसार्दा कोरोना नलाग्ने सामाजिक दूरी कायम गरी ट्याक्सी चलाउँन पाउँभन्दा कोरोना सर्ने यो कदापी हुँदैन, हाम्रा जहान, बालबच्चा भोकै छन्, छोरा–छोरी र श्रीमतीले चामल किन्ने पैसा खै भन्न थाले हामी के खाएर बस्ने ?”

तामाङ्को तर्क थियो–’हुने–खाने, शक्ति र पहुँचवालाहरुका सबै कुरा खुल्ने, काम पनि गर्न नदिने, खान नपाएको बेला कर तिर भन्ने यो जायज हैन, यातयात व्यवस्था विभागले टेरपुच्छर लगाएको छैन, हामीलाई नहेपोस् देशैभर यातयात ठप्प पार्छौं ।’

हामी भोलीदेखि आमरण अनशन बस्छौं–सानु पुर्वाछाने

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उपत्यका ट्याक्सी तथा चालक सेवा समाजका अध्यक्ष सानु पुर्वाछानेले यातयात व्यवस्था विभागमा भएकोे वार्तामा हाम्रो माग सुनुवाई नभएका कारण भोलीबाट आमरण अनसनमा बस्ने चेतावनी दिएका छन् । पुर्वाछानेले भने,’लकडाउन आज एक सय एक दिनभयो, हामीले काम गर्न पाएका छैनौं, अहिलेसम्म धान्यौ अब धान्न सकिदैन, अबको दिन भनेको आमरण अनसन हो, हामी यही बस्छौं, यही सुत्छौं र यही मर्छौं ।’

सम्बोधनका क्रममा अध्यक्ष सानु पुर्वाछाने भन्छन्–’सरकारले हामीलाई अहिलेसम्म लुट्नसम्म लुटेको छ, अब लुटाउने ठाउँ नै छैन, घर गयो, श्रीमती र छोरा–छोरीले पैसा माग्छन्, कोठामा गयो घर धनीले भाडा माग्छन्, अनुहार लुकाउन पनि अब आमरण अनशनको विकल्प छैन । रकारले देशैभरमा चल्ने ट्याक्सी जिम्मा लिओस् हैन भने पेटपाल्नका लागि चलाएको ट्याक्सीमा व्हील लक नलगाओस्, अब हामी व्हील लक लगाउने विरुद्ध मुद्दा पनि हाल्छौं ।’



प्रतिक्रिया दिनुहोस्