Logo

प्रधानमन्त्री ओलीको प्रस्ताव बोकेर ईश्वर पोखरेलसहितका नेताहरु प्रचण्ड निवासमा



काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा एक ठाउँमा उभिएका छन् । दाहाल-नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी र सरकार दुवै नचल्ने निश्कर्ष निकालेको छ । र, जारी स्थायी कमिटी बैठकमा उनीहरुले ओलीको राजीनामा माग गरेका छन् ।

शीर्ष नेताहरुले नै आफ्नो राजीनामा माग गरेपछि ओली थप दबाबमा परेका छन् । हिजोमात्रैपनि ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरु र मन्त्रीहरुसँग छलफल तथा परामर्श गरेका थिए । उनले आफूलाई पार्टीभित्रबाट घेराबन्दीमा पारिएको र अपमान गरिएको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका थिए । ओलीसँगको परामर्शमा सहभागी नेताहरुले पार्टी एकतालाई जोगाएर अघि बढ्न र निर्णय मान्न सुझाएका थिए ।

उता, ओलीले बालुवाटारमा छुट्टै भेला बोलाएपछि दाहाल-नेपाल समूहले पनि हिजो (बुधबार) साँझ ललितपुरको झम्सिखेलस्थित् अगेनो रेष्टुरेन्टमा स्थायी कमिटी सदस्यहरु सम्मिलित भेला गराएको थियो । दाहाल-नेपालको भेलामा मन्त्री रामबहादुर थापा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र घनश्याम भुषालपनि सहभागी थिए । यसअघि ओलीलाई साथ दिँदै आएका बादलले भने पहिलोपटक खुलेर आफ्नो साथ दाहाललाई रहने विश्वास दिलाएका थिए । हिजो भेलालले ओलीमाथिको दबाब कायमै राख्ने र प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गराउन लगाउने निश्कर्ष निकालेको छ । ओलीले पार्टीको निर्णय नमाने बहुमतको डण्डा चलाउनेपनि दाहाल-नेपाल समूहको रणनीति छ ।

यता, आज विहानै ओलीनिकट स्थायी कमिटी सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली भने अध्यक्ष दाहालसँगको छलफलमा जुटेका छन् । दाहालनिवास खुमलटारमा अहिले छलफल जारी रहेको बुझिएको छ । छलफलमा पर्यटनमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराईको पनि सहभागिता रहेको बुझिएको छ । उनीहरु जसरी भएपनि दुई अध्यक्ष मिलेर अघि बढ्नुपर्ने सन्देश लिएर दाहालकहाँ पुगेका हुन् । तर, दाहाल भने यो पटक टसमसको नहुने अडानमा छन् ।

अध्यक्षद्धय मिलेर अघि बढ्नुपर्ने ओली पक्षको प्रस्ताव

ओलीनिकट नेताहरुले दुई जना अध्यक्ष मिलेर अघि बढ्नुपर्ने प्रस्ताव राख्दै आएका छन् । उनीहरुले पार्टी एकता बचाउनको लागि पनि दुई अध्यक्ष मिल्नुको विकल्प नभएको धारणा राखेको बुझिएको छ । ओली पक्षका नेताहरुले यसअघि पनि सचिवालय बैठकमा रस्साकस्सी पर्दा दुई अध्यक्षबीचको विवाद मिलाउन निर्णायक भूमिका खेलेका थिए । अहिलेपनि उनीहरुले ओलीलाई दुवै पदबाट हटाउन नहुने भन्दै दाहालसामू सोहीअनुसारको प्रस्ताव राखेका छन् । तर, दाहाल नेपाल समूहले भने ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउने रणनीति अख्तियार गरेको छ । ओली पक्षका नेताहरुले भने ओलीले दुईमध्ये एक पद मात्रै छोड्न सक्ने कुरा अर्का अध्यक्ष दाहाललाई स्पष्ट पारेका छन् । स्थायी कमिटीको बैठक अहिले ११ बजेबाट सुरु हुँदैछ । बैठकमा आज बोल्ने सदस्यहरुले समेत जोडदार रुपमा ओलीको राजीनामा माग्ने तयारी गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्