Logo

लागुपदार्थ दुव्र्यसनविरुद्ध किशोरी सक्रिय



चन्द्रौटा, १८ असार: कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरका किशोरीहरु लागुपदार्थ दुव्र्यवसविरुद्ध एकजुट भएका छन् । शिवपुरमा रहेका गौतम किशोरी संवाद, सरस्वती किशोरी संवाद र नवदुर्गा किशोरी संवादका किशोरीले गाउँघरमा लागुपदार्थ सेवन गरी झैझगडा र होहल्ला गर्ने गरेकाले गाउँमा लागुपदार्थ नियन्त्रण अभियान थालेका छन् ।

शिवपुरलाई नमूना बस्ती निर्माण गर्ने योजना रहेकाले लागुपदार्थ दुव्र्यसनविरुद्धको अभियानमा सबैको सहयोग हुनुपर्ने सरस्वती किशोरी संवादका अध्यक्ष शान्ति जिसीले बताए । दिनभरि लागुपदार्थ सेवन गर्ने र घरमा श्रीमती र छोराछोरीलाई यातना दिने गरेकाले अब निश्चितबाहेक अन्य समयमा मदिराजन्य पदार्थ बेचबिखनमा समेत रोक लगाइने जिसीले जनाए ।

टोलमा बालविवाह, बहुविवाह, बालश्रम जस्ता गैरकानूनी काम पूर्ण रुपमा निषेध गरिने भएको छ । टोललाई मदिरा र चोरीडकैती मुक्त बनाउन तथा पीडितलाई राहत दिन किशोरीले पहल गर्ने भएका छन् । मदिरा बिक्री तथा प्रयोगमा पाँच नियमसमेत बनाइएको किशोरी सीमा खड्काले बताउनुभयो । अनुमतिप्राप्त व्यवसायीले साँझ ५ बजेदेखि ८ बजेसम्म मात्र मदिरा बिक्री गर्न पाउने, बाहिरबाट आउने मदिरालाई पूर्ण रुपमा निशेष गर्ने, स्थानीय मदिरा उत्पादकलाई सचेत गराई उत्पादनमा रोक लगाउने तथा यसबारे व्यापक रुपमा प्रचारप्रचार गर्ने किशोरीको योजना छ ।

किशोरीहरु टोललाई नमूना बनाउने योजनामा लागेकाले यसमा नगरपालिकाको पूर्ण साथ रहने शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले बताए । थारु समुदायको बाहुल्य रहेको शिवपुरमा घरघरमा पुगेर किशोरीले सचेत गराउन सकेमा न्यूनीकरण हुन सक्ने सम्भावना रहेको उनको भनाइ थियो ।

पछिल्लो समयमा किशोरमा लागुऔषधको प्रयोग गर्नेक्रम बढेकाले अभिभावकले विशेष ध्यान दिनुपर्ने वडा नं १ का वडाध्यक्ष जगत जिसीले बताए । साँझ १५ देखि २० वर्ष उमेर समूहका किशोरले सडकको किनार तथा चौरमा लागुऔषध प्रयोग गर्ने गरेकाले समयमा रोक्न नसके दुर्घटना निम्तिने उनले बताए ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्