Logo

दाहाल–नेपाल मिलनको रहस्य, कसरी एक्लिए ओली ?



असार १८, काठमाण्डौ । केपी शर्मा ओलीलाई अहिले एक्ल्याउनमा मुख्य भूमिका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले खेलेको देखिन्छ । यद्यपी ओलीको कार्यशैलीका कारण उनी कमजोर बन्दै गएका हुन् ।

२०६३ साल असार २ गते बालुवाटारमा भएको विस्तृत शान्ति सम्झौतामा मुख्य भूमिका तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालको थियो । उक्त सम्झौतामा तेस्रो व्यक्तिको नाम लिदा माधवकुमार नेपालको विकल्प छैन । शान्ति सम्झौता प्रक्रियामा नेपालको भूमिका महत्वपूर्ण थियो । त्यसबेलादेखि नै दाहाल र नेपालबीच नजिकबाटै चिन्ने मौका मिलेको थियो ।

त्यसपछिका राजनीतिक घटनाक्रममा दुई नेता एकअर्काका दुश्मनदेखि सहकार्यका मुख्य पात्र पनि बन्न पुगे । शान्ति सम्झौतापछि गणतन्त्रको एजेण्डामा प्रवेश गर्न राजी भएपछि दाहालको सम्बन्ध कोइराला र नेपालसँग थप प्रगाढ बनेको थियो । तर संविधानसभाको निर्वाचनका सन्दर्भमा तीन नेताबीच महिनौँसम्म विवाद रह्यो । अन्ततः २०६४ साल चैतमा पहिलो पटक संविधानसभाको निर्वाचन भयो । र दाहाल नेतृत्वको माओवादीले अपेक्षा गरेभन्दा धेरै स्थानमा चुनाव जितेर कांग्रेसलाई दोस्रो र नेपाल नेतृत्वको तत्कालिन नेकपा एमालेलाई तेस्रो स्थामा खुम्च्याइदियो ।

त्यति मात्रै होइन, एमालेका महासचिव नेपालले काठमाण्डौ र रौतहट दुई क्षेत्रबाट उम्मेदवारी दिएकोमा दुवै स्थानमा पराजित भएपछि नैतिकताका आधारमा राजीनमा दिएका थिए । त्यसपछि दाहालको घमण्ड बढ्दै गयो भने कांग्रेस र एमाले अर्को चुनावमा कसरी जनमत फिर्ता ल्याउने भन्ने रणनीतिमा लागे । यसबीचमा संविधानसभाबाट नयाँ संविधान बनाउने प्रक्रिया सुरु भयो । शान्ति प्रक्रियाका महत्वपुर्ण पात्रको रुपमा स्थापित भइसकेका नेपाललाई दाहाल र कोइरालको सहमतिमै सभासद बनाइयो ।

र संवैधानिक समितिका सभापतिको जिम्मेवारी दिइयो । तर संविधान निर्माणमा दलहरुबीच विवाद भैरहेका बेला प्रधानमन्त्री दाहालले प्रधानसेनापति प्रकरणमा विवादित भएर राजीनामा दिए । त्यसपछि उनै दाहालको चाहनाबमोजिम सभासद बनाइएका नेपाललाई कांग्रेसले प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । र उनै नेपाल प्रधानमन्त्री बन्न सफल भए । यो घटनापछि दाहालले नेपाललाई प्रधान शत्रुको रुपमा लिए । संविधान निर्माण प्रक्रिया लामो समयसम्म पूरा नभएपछि पहिलो संविधानसभाकै अवधिमा धेरै प्रधानमन्त्री फेरिए । दोस्रो संविधानसभाको निर्वाचनले नयाँ संविधान पायो ।

र संघीयताबमोजिम चुनाव भयो । बाम गठबन्धनले चुनाव जित्यो र तत्कालिन एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बने । यसबीचमा दाहाल र नेपालबीचको सम्बन्ध सामान्य रह्यो । उता २०७१ सालमा भएको तत्कालिन एमालेको नवौं महाधिवेशनमा ओली र नेपाल अध्यक्षका लागि प्रतिस्पर्धा हुँदा नेपाल पराजित भएका थिए । महाधिवेशनपछि नेपाल र ओलीबीचको सम्बन्ध टाढिदै गयो । अध्यक्ष बनेपछि ओलीले नेपाल र उनी पक्षधर नेताहरुलाई विभेद गर्न थाले । यही बिचमा स्थानीय तह, प्रदेश र संसदीय निर्वाचनका समयमा तत्कालीन नेकपा र तत्कालीन माओवादी केन्द्रबिच एकता भएसँगै अहिले नेकपा बनेको छ ।

यो नेकपा बन्नुमा र पार्टी एकीकरण हुनुमा पनि पूर्व प्रधानमन्त्री नेपालको ठूलो योगदान रहेको छ । यहीबिचमा पार्टी एकीकरणसँगै दाहाल र ओली अध्यक्ष बने भने नेता नेपाल बरीष्ठमा चित्त बुझाएर बस्नु पर्ने अवस्था श्रृजना भयो । देशमा कम्युनिष्टहरुको दुई तिहाईको सरकार हुदाँ पनि अध्यक्ष ओली एकलौटी ढंगले चल्नु, अर्का अध्यक्ष दाहाललगायतका नेताहरुका कुरा पनि नसुन्ने र आफ्नै एकल निर्णय गर्न थाले ।

जसले गर्दा दाहाल–नेपाललाई निकट बनाउनमा भूमिका खेल्यो । यसैको निरन्तरतास्वरुप अहिले दाहाल–नेपाल गठबन्धनले ओली गुटलाई अल्पमतमा पार्न सफल भएका हुन् । र यसको मूख्य कारक भने ओलीकै कार्यशैलीलाई मानिएको छ । यतिबेला दाहाल र नेपालबीचको गठबन्धनले नेकपाको सचिवालय, स्थायी कमिटि, संसदीय दल र केन्द्रिय समितिमा ओली अल्पमतमा परेका छन् ।

अहिले नेपाल पार्टीमा जता समर्थन गर्छन्, उतै बहुमत पुग्ने अवस्था छ । ४५ सदस्यीय स्थायी समितिमा नेता नेपालको शक्ति बलियो छ । दाहाल निकट १३ जना भए पनि ओली र नेपाल निकट समितिमा १२ र १२ जना छन । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटिमा दाहालसँग १ सय ३९ केन्द्रीय सदस्य छन् भने ओलीसँग १ सय १० र नेपालसँग ९२ जना केन्द्रिय सदस्य रहेका छन् ।

प्रतिनिधिसभामा ओली पक्षका ५४, दाहाल पक्षका ४५ र नेपाल पक्षका ३८ सांसद छन् । तर अर्का अध्यक्ष प्रचण्डले नेकपा नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतलाई आफ्नो पक्षमा पारी अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई राजीनामा गराउन तम्सीएसँगै नेपाल पार्टीमा बलियो हुने पक्का–पक्की जस्तै बनेको छ । तर अहिलेको अवस्थामा दुई अध्यक्षमध्ये नेपाल जसको पक्षमा छन्, उहि बलियो हुने स्पष्ट देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्