Logo

रायमाझीले छाडे प्रचण्डको साथ, दाहाल-नेपालबाट ओलीलाई ११ जनाको साथ रहने दाबी !



काठमाडौं, १८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएसँगै पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ स्वयमले पार्टी गम्भिर संकटको मोडमा उभिएको टिप्पणी गरेसँगै नेकपाभित्र कति विवाद छ ? भन्ने कुरा प्रष्टै हुन्छ । गत बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटीको पाँचौ बैठकको पहिलो दिनमै अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।

बैठकमा अहिलेसम्म बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । तर, प्रधानमन्त्री ओली भने कुनैपनि हालतमा राजीनामा नदिने अडानमा छन् । यही अडानका बीच प्रधानमन्त्री ओलीले आज संसदको बजेट अधिवेशन अन्त्य गर्नको लागि मन्त्रिपरिषदको बैठक द्रुत गतिमा सम्पन्न गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेका थिए । उक्त मन्त्रिपरिषद बैठकमा पूर्व माओवादी केन्द्र खेमाका स्थायी समिति सदस्य रहेका मन्त्रीहरुको समेत सहभागिता थिएन् । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

लगत्तै उनले बालुवाटार फर्केर मन्त्रिपरिषद बैठक राखेर संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिश गर्ने निर्णय गराए । मन्त्रिपरिषदको सिफारिश पुगेको डेढ घण्टामै राष्ट्रपतिले बजेट अधिवेशन आजै साँझ ५ बजेटबाट अन्त्य भएको सूचना संघीय संसद सचिवालयलाई गराईसकेकी थिईन् । यही बीचमा बालुवाटारमा स्थायी कमिटी बैठक जारी थियो । बैठक अर्का अध्यक्ष दाहालले सुचारु गरिरहेका थिए । तर, ओलीले आफूसँगको समझदारीविपरित बजेटको अधिवेशन अन्त्य गर्न सिफारिश गरेकोले दाहालपनि रुष्ट बनेका थिए । बैठक छोडेर दाहालले ओलीसँग एक्लाएक्लै भेटवार्ता समेत गरे । तर, ओलीले राजनीतिक दल विभाजनसम्बन्धी यसअघि ल्याएको अध्यादेश पूनः ल्याउने संकेत गरेपछि दाहाल बालुवाटारबाट सिधै राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीसँग करिब एक घण्टा भेटेका दाहालले आफूसँगको भेटमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश आफूकहाँ नआईसकेको र मिलेर अघि बढ्न सुझाएको स्थायी कमिटी बैठकमा सुनाएका थिए ।

दाहालले मोटामोटी आफू र प्रधानमन्त्री ओली र आफू र राष्ट्रपतिबीचको भेटवार्ता र कुराकानी बैठकमा जानकारी गराउँदै आगामी शनिबार विहान ११ बजे पूनः बैठक बस्नेगरि स्थगित् गराएका छन् । भोलि एक दिन अझै सहमतिको प्रयास गर्ने उनको विश्वास छ । तर, उनले बैठकमै स्थायी कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनेसमेत बताएका छन् ।

नेकपाभित्र सबै मोर्चामा ओली अल्मपतमा छन् भनिएको छ । तर, उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउने भए संसदीय दलमा बहुमत पुर्याएर देखाउनसमेत दाहाल–नेपाल समूहलाई यसअघि नै चूनौति दिईसकेका छन् । गत बैशाखमा नै ओली समूह र दाहाल–नेपाल समूहले आ–आफ्नो पक्षमा बहुमत पुर्याउनेगरि कसरत गरेका थिए । तर, अन्तिममा उपाध्यक्ष गौतमले ओलीलाई साथ दिँदा उनको राजीनामा टरेको थियो । तर, अहिले परिस्थिति अर्कै छ । उनको पक्षमा सचिवालयमा ईश्वर पोखरेल र विष्णु पौडेलमात्रै छन् । उपाध्यक्ष गौतम र गृहमन्त्रीसमेत रहेका बादलले पनि दाहाल–नेपाललाई साथ दिईसकेका छन् । हिजो ललितपुरमा आयोजित दाहाल–नेपालको भेलामा सहभागी भएका बादलले पहिलोपटक आफूलाई खुलाएका छन् । उनले आफू दाहालको पक्षमा उभिने स्पष्ट पारिसकेको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

रोचक कुरा के छ भने नेकपाका कार्यकारी अध्यक्ष दाहालले नै पार्टी फुट्ने अवस्थापनि आउने खतरा औंल्याएका छन् । उनले ओलीले पार्टी फुटाए कसको के लाग्छ र ? भन्ने अभिव्यक्तिपनि नेताहरुलाई दिएको चर्चा चलेको छ । तर, आफूहरु पार्टी एकता जोगाउनको लागि हदैसम्म गम्भीर बनेको र सोहीअनुसार प्रयत्न गरिरहेको पनि दाहालले विश्वास दिलाएका छन् । दाहालले अब पार्टी फुट्दा पूर्व एमाले र पूर्व माओवादी भएर नफुट्ने भन्दै फ्युजन हुने बताईसकेका छन् । दाहालको भनाईलाई पुष्टि गर्नेगरि पूर्व माओवादी केन्द्र खेमाका स्थायी समिति सदस्य लेखराज भट्ट ओलीको पक्षमा खुलेर उभिएका छन् । उनले बैशाखमै आफूलाई ओलीको कित्तामा उभ्याएका हुन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता टोपबहादुर रायमाझीले पनि पछिल्लो समय प्रचण्डको साथ छोडेको बुझिएको छ । रायमाझीसँगै पूर्व माओवादी खेमाका स्थायी कमिटी सदस्यहरु मणि थापा, प्रभु साह, हरिबोल गजुरेल र चक्रपाणि खनालले पनि ओलीलाई साथ दिने गाईँगुँई हल्ला चलेको छ ।
स्रोतकाअनुसार नेता रायमाझी ओलीसँग निरन्तर सम्वाद र सम्पर्कमा छन् । बरु, उनी अध्यक्ष दाहाल निवास खुमलटार जान छोडिसकेका छन् ।

उनको हिमचिम बालुवाटारमै बढि छ । रायमाझीले स्थायी कमिटी बैठकमा समेत प्रधानमन्त्री तथा अध्यक्ष ओली अल्पमतमा नभएको दाबी गर्न थालेका छन् । उनले पूर्व माओवादी केन्द्र खेमाका ७ जना र बरिष्ठ नेता माधवकुमार नेपाल समूहका चार जना सदस्यहरुको स्थायी कमिटीमा ओलीलाई साथ रहने दाबी आफूनिकटका नेताहरुलाई गर्दै आएका छन् । नेता नेपाल खेमाबाट ओलीलाई साथ दिनेहरुहमा मन्त्रीद्धय योगेश कुमार भट्टराई र घनश्याम भुषाल हुने हल्ला चलेको छ ।  FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्