Logo

एकता पुरा नहुँदै विभाजनको सँघारमा नेकपा



काठमाडौं, असार १९ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै विभाजनको सँघारमा आइपुगेको छ। २०७५ जेठ ३ गते पार्टी एकीकरण घोषणासभामा प्रधानमन्त्री तथा तत्कालीन एमाले अध्यक्ष केपी ओलीले नेकपा एमाले र माओवादी केन्द्र मिसिएको रुपमा नबुझ्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका थिए। ‘हामी घोलिएका छौं,’ ओलीले भनेका थिए, ‘हिन्द महासागरमा गएर हामीले सेती, कोसी खोजेर पाइँदैन।’

तर पार्टी एकता भएको दुई वर्ष बित्दा पनि एकीकरण प्रक्रिया टुंगोमा पुगेको छैन नै, आन्तरिक विवाद तीव्र बनी पार्टी विभाजनको सँघारमा आइपुगेको छ। आन्तरिक विवाद सुल्झाएर जानेभन्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू अनुकूल निर्णय लिँदै अघि बढेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले जारी स्थायी कमिटी बैठक पार्टी विभाजनको प्लेटफर्म बन्नसक्ने जनाएका छन्। उनले निकटका नेताहरूलाई त्यसका लागि तयार रहनसमेत संकेत गरेका छन्। यसबाट पनि नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको पुष्टि हुन्छ।

शीर्ष नेताहरूबीच सरकार र पार्टी सञ्चालनका विषयमा बढ्दै गएको असमझदारी विभाजनतर्फ उन्मुख भएको हो। प्रधानमन्त्री भएपछि ओलीमा अहंकार बढेको, पार्टीको निर्णय नमानेको, विधि र पद्धति अस्वीकार गरेको, सरकारप्रति जनतामा असन्तुष्टि बढेको, पार्टी र सरकारबीच समन्वय नभएको भन्दै अन्तरविरोध बढेपछि पार्टी एकता गम्भीर संकटमा पुगेको हो। पार्टीका शीर्ष नेताहरुले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर ओलीले पार्टी फुटाउने बाटो खुला गर्न लागेको आरोप लगाएका छन् भने ओली पक्षले सरकारलाई काम गर्न नदिएर दाहाल–नेपाल पार्टी फुटाउन लागेको आरोप लगाउँदै आएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्