Logo

ठमेलका व्यवसायीलाई घरभाडामा ५० प्रतिशत छुट



काठमाडौं, असार १९ । पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच छ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ ।

पर्यटन क्षेत्रका २२ संस्थाले आज ठमेलमा संयुक्त पत्रकार सम्मेलन गरी ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको जनाएका हुन् ।

कोभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी पलायन हुदाँ त्यस क्षेत्रमा २७० कोठा तथा सटर खाली भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

परिषद्द्वारा गठित कोभिड १९ पर्यटन व्यवसायी विपत् समन्वय समितिको पहलमा ठमेल क्षेत्रका ३५० व्यवसायी र घरधनीबीच भाडा छुटको समझदारी भएको समितिका संयोजक भवी शर्माले जानकारी दिए । उनले ठमेल क्षेत्रको व्यवसाय, व्यवसायी तथा घरधनीलाई जोगाउन सञ्चारलगायत सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस्