Logo

जसलाई पक्राउ गर्न जाँदा कानपुरमा आठ प्रहरी मारिए



एजेन्सी, १९ असार । भारतको उत्तर प्रदेशमा अपराधीसँगको इन्काउन्टरमा आठजना प्रहरीको मृत्यु भएको छ । बिहिबार राति देखि शुक्रबार विहानसम्म एकजना खुंखार अपराधीलाई पक्राउ गर्न जाँदा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । ती खुंखार अपराधी हुन् विकास दुवे ।

दुवेमाथि उत्तर प्रदेशका एकजना मन्त्रीको सन् २००१ मा हत्या गरेको अभियोग छ । कानपुरको प्रहरी स्टेशनको अगाडि मन्त्री सन्तोष शुक्लाको हत्या भएको थियो । दुवेलाई १६ वर्षपछि पक्राउ गरिएपनि गत वर्ष धरौटीमा अदालतले रिहा गरेको थियो । उनलाई फेरि गत वर्ष प्रहरीले पक्राउ गरेको थियो ।

दुवेमाथि जेलमा पनि मानिसको हत्याको आरोप छ । उनले आफ्नै आफन्तको समेत हत्या गरेको अभियोग दर्ता छ । जेलमा बसी बसी मान्छे मार्ने गरेको आरोप छ । दुवेले जेलमै बसेर चुनाव जितेका थिए । उनले बहुजन समाज पार्टीबाट पञ्चायतको चुनाव जितेका थिए ।

दुवे कानपुर क्षेत्रमा शक्तिशाली नाम हो । त्यसैले उनलाई पक्राउ गर्नु कठिन मानिन्थ्यो । हिजो साँझ देखि विहानसम्म भएको भिडन्तमा डिएसपीसहित आठ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी कानपुरको डिक्रु गाउँ पुगेको थियो । चौबेपुरबाट पुगेको प्रहरीलाई बाटोमै अवरोध भयो । उनीहरु अवरोध पन्छाएर बढेका थिए । तर, गाउँ पुगेपछि आक्रमण भयो । घरको छतबाट गोली हान्न थाले ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्