Logo

प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने ओलीको रणनीति



काठमाडौं, १९ असार । बरु पार्टी फोड्ने तर पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई सत्ता नछाड्ने ! नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो सन्देश दिइसकेका छन् । उनले आफ्ना निकटस्थलाई लगाएर नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ताका लागि खटाइसकेका छन् । नाम दर्ता गर्न पुगेकाहरुको सम्बन्ध ओली निकटस्थहरुसँग देखिएबाट यसको पुष्टि हुन्छ ।

पार्टीभित्र राजीनामाको दबाब बढेपछि ओलीले नयाँ रणनीति तयार गरेका छन् । पार्टी फुटाउन आवश्यक पर्दा अध्यादेश समेत ल्याउन मिल्ने गरी संसद अधिवेशन अन्त्यको सिफारिश गराएर अनुमोदन गराइसकेका छन् । अब राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेशको तयारी छ । पार्टीभित्र अल्पमतमा परेका उनी सत्ता छाड्नुभन्दा नेकपा बिघटनको निर्णय गर्ने तयारीमा छन् । भोलिभित्र यसको टुंगो लागिसक्ने बुझिएको छ ।

ओली सत्ता नछाड्ने र उनका विरोधी समुह सत्ताबाट हटाइछाड्ने अडानमा रहेबाट वार कि पार हुनसक्छ । त्यस्तो अवस्थामा ओलीसँग संसदमा बहुमत गुम्नेछ । त्यसो हुँदा सत्तामा जान नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको समर्थन चाहिनसक्छ । ओलीले आफू सत्तामै रहने भरमग्दुर प्रयास गर्ने देखिएको छ । त्यस्तो सम्भव नभए प्रचण्ड र माधवकुमार नेपाललाई सत्तामा जान नदिने बरु काँग्रेस र जसपालाई सत्तामा जान सहयोग गर्ने सम्भावना पनि रहनसक्छ ।

इखालु स्वभावका ओलीले यसपटक कठोर कदम चाल्ने संकेत गरिसकेका छन् । कुनै हालतमा सत्ता सजिलै नछाड्ने उनको रणनीतिले नेकपालाई बिघटनको संघारमा पुर्याइसकेको छ । यसले दलहरुमा दुर्घटना निम्त्याउने मात्र नभई नेपाली राजनीतिमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्