Logo

चितवनको इच्छाकामना गाउँपालिकालाई वडाको केन्द्र तोक्नै सकस



मुग्लिन, १९ असार : चितवनको इच्छाकामना गाउँपालिकालाई वडाको केन्द्र तोक्न नै सकस परेको छ । वडा नम्बर ३ को कार्यालय तोक्नका लागि गाउँसभामा मत विभाजन गर्दासमेत टुङ्गो लाग्न नसकेपछि सकस परेको हो ।

बिहीबारको गाउँसभा बैठकमा विवादित वडाहरुको केन्द्र टुङ्गो लगाउन मत विभाजन गरिएको थियो । उक्त वडाको फिस्लिङ र चुम्लिङटार मध्य कुनै पनि प्रस्तावको पक्षमा बहुमत नभएपछि केन्द्र टुङ्गो लाग्न नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव सुकदेव लम्सालले जानकारी दिए । सचिव लम्सालका अनुसार सभामा तत्काल कायम सदस्य सङ्ख्याको ५१ प्रतिशत मतले केन्द्र टुङ्गो लगाउन सक्ने कानूनी प्रावधान रहेको छ । इच्छाकामना गाउँपालिकाको गाउँसभामा तत्काल कायम सदस्य सङ्ख्या ३५ छ । जसअनुसार कुनै पनि प्रस्ताव बहुमतले पारित गर्न कम्तीमा पनि १८ मत ल्याउनै पर्ने हुन्छ। तर बिहीबार भएको गाउँसभामा प्रस्तावित वडा ३ को केन्द्र सम्बन्धमा फिस्लिङको पक्षमा १५ र चुम्लिङटारको पक्षमा १७ मत परेको थियो ।

अब उक्त प्रस्तावमा छलफल गर्न आगामी असार २२ गते गाउँसभा बस्ने उनले जानकारी दिए । यसैबीच वडा नं २ को केन्द्र भने टुङ्गो लागेको छ । दश गतेदेखि जारी गाउँपालिकाको सातौँ गाउँसभाको बिहीबार बसेको चौथो बैठकले वडा नं २ को केन्द्र माथिल्लो काउलेमा तोकिएको हो ।

गाउँपालिकाको ७ मध्य ५ वटा वडाको केन्द्र यस अघि नै टुंगो लागेर भवन निर्माणको काम सुरु भैसकेको छ। ती वडाहरु मध्ये पनि केही वडाको विवादका बीच वडाका जनप्रतिनिधिले नै वडाको केन्द्र टुङ्गो लगाएको थियो । बिहीबार तोकिएको वडा नम्बर २ को कार्यालय पुग्नका लागि वडा भित्रकै बासिन्दाहरु ४ घण्टासम्म पैदल हिडेर पुग्नुपर्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्