Logo

लकडाउनमा २६१ अन्तर्राष्ट्रिय उडान: १६ हजार नेपालीको उद्धार



काठमाडौँ, १९ असार : पर्यटन मन्त्रालयका अनुसार बन्दाबन्दीको अवधिमा कूल २६१ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमध्ये नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का ९८, हिमालय एयरलाइन्सका ६२, बुद्ध एयरका चार र श्री एयरलाइन्सका छ गरी नेपाली एयरलाइन्सले मात्रै १७० उडान गरेका छन् । जम्मा ४७ वटा अन्तर्राष्ट्रिय कार्गो उडानबाट करीब ८९१ टन कार्गो नेपाल भित्रिएको छ भने ४७२ टन कार्गो बाहिरिएको मन्त्रालयले जनाएको छ ।

आन्तरिकतर्फ पनि यो अवधिमा ६१ हेलिकप्टर र ६१ पटक जहाजको गरी ३०५ कार्गो उडान भएका जनाइएको छ । मध्यपूर्व र युरोपका अतिरिक्त विभिन्न १७ मुलुकबाट मार्च २४ देखि ३० जुनसम्म निगमसहितका अन्य वायुसेवाका कूल २१४ उडानबाट १६ हजार ६७२ नेपालीलाई उद्धार गरी ल्याइएको र नेपालमा अलपत्र परेका विदेशीसहित १२ हजार ४०८ यात्रु विदेश प्रस्थान गरेका पनि मन्त्रालयले जानकारी दिएको छ । बन्दाबन्दीको अवधिमा विभिन्न जिल्लाबाट ९५० पर्यटकको उद्धार गरिएको छ । यसमा ६११ विदेशी पर्यटक छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्