Logo

लकडाउनमा पर्यटन क्षेत्रले ३४ अर्ब गुमायो



काठमाडौँ, १९ असार : कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा पर्यटन तथा हवाई क्षेत्रले रु ३४ अर्बको नोक्सानी बेहोरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्दाबन्दी शुरु भएको गत चैत ११ गतेदेखि अहिलेसम्म प्रति महिना सरदर रु १० अर्बको कारोवार मूल्यको क्षति अनुमानसहित हालसम्म रु ३४ अर्ब नोक्सानी भएको जनाएको हो । आगामी साउन ७ गतेसम्म पुग्दा थप सात अर्ब नोक्सानी बढ्ने पनि मन्त्रालयले आँकलन गरेको छ । नेपाल पर्यटन बोर्डले गरेको हालैको अध्ययनअनुसार पर्यटन तथा हवाइ क्षेत्रमा रु १० खर्बभन्दा बढी लगानी भएको छ ।

कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीको अवधिमा मन्त्रालयद्वारा सम्पादित प्रमुख कार्यहरुबारे जानकारी दिन मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि यही असार १५ गतेसम्मको मन्त्रालय मातहतका योजना कार्यक्रमको प्रगति सार्वजनिक गरिएको हो ।

पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अध्ययन समिति बनाइएको थियो । पर्यटन तथा हवाइ क्षेत्रमा भएको नोक्सानीको विवरण बनाइ बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयमा पठाइएको र नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाई विवरण उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रुद्रसिङ तामाङले सरकारको बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनःकर्जाका लागि पाँच प्रतिशत ब्याज दरमा कोषबाट ऋण दिने व्यवस्था भएको जानकारी दिए । उनका अनुसार होटलको लागि भ्याट छुटको समयावधि दुई महिनाबाट बढाएर चार महिना पु¥याइएको, हवाईजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारसमक्ष सिफारिस गरिएको छ ।

पत्रकार सम्मेलनमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका कारण मन्त्रालय मातहतका विकास आयोजनालाई असर गरेको र यो अवधिमा पर्यटन तथा हवाई क्षेत्रमा नराम्ररी असर पुगेको बताए । उनले विकास आयोजनाको मुख्य प्रगति हुने समयमा बन्दाबन्दीको सामना गर्नु परेकाले उल्लेख्य प्रगति गर्न नसकिएको भए पनि मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको काम भने सन्तोषजनक प्रगति रहेको उल्लेख गरे ।

उनले भने, “करिब छ महिना विकास आयोजनाको काम द्रूत गतिमा जानुपर्ने र विकास बजेट खर्च हुने मुख्य समय हामीले गुमायौँ, तर पनि राष्ट्रिय गौरवका आयोजनाको काम बन्दाबन्दीमा पनि निरन्तर भएर केही प्रगति पनि हासिल गरिएको छ ।” पर्यटनमन्त्री भट्टराईले राष्ट्रिय गौरवका आयोजनाको कामलाई गति दिन मन्त्रालय लागि परेको बताए ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम