Logo

नेकपा फुट्ने सम्भावना बढ्यो, दुवै पक्ष भिड्नेसम्मको तयारीमा



काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र भोलि वार कि पारको अवस्था बन्ने भएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ आफ्नो अडानमा टसमस नभएपछि वार कि पारको अवस्था बनेको हो ।

आज तीन घन्टा ओली र प्रचण्डले मन माँझेर कुरा गरेपनि लचिलो हुन चाहेनन् । ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैमध्ये एक पद पनि छाड्न नचाहने र प्रचण्ड पनि अडानबाट पछि हट्न नचाहने । यसरी कुरा नमिलेपछि दुवै पक्ष आ आफ्नो तयारीका लागि राति अबेरसम्म छलफलमा जुटेका छन् ।

विश्वस्त स्रोतका अनुसार भोलि बस्ने स्थायी कमिटि बैठकले कुनै निर्णय लिएरै छाड्नेछ । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम पछि हट्ने पक्षमा छैनन् । ओलीले सहज तरिकाले सत्ता छाड्न नमाने फिर्ता बोलाउने सम्मको निर्णय गर्ने गरी तयारी भएको छ । यसका लागि उक्त समुहले कानुनी परामर्श समेत गरिसकेको छ ।

ओली पक्ष भने जुनसुकै चुनौतीको सामना गर्न तयार भएर बसेको छ । ओलीइतरको समुहले संकटकाल लगाउने देखि अध्यादेश ल्याएर नयाँ पार्टी गठन गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी सामना गर्न तयारी गरिसकेको छ ।

दोस्रो तहका नेताहरुले पार्टीलाई फुटबाट जोगाउन प्रयास छाडेका छैनन् । दिनभर र राति अबेरसम्म प्रयास गरिरहेका छन् । तर, ओली छाड्न नचाहने र प्रचण्डलगायतका नेताहरुले छाड्न वाध्य पार्ने योजना बनाएबाट दुर्घटनाको खतरा बढेको छ । भोलि नेकपामा ठुलो दुर्घटना हुने सम्भावना बढेर गएको छ ।

यसैगरी, प्रधानमन्त्रीको समर्थनमा युवाविद्यार्थीहरु परिचालित गरिएका छन् । बालुवाटारबाटै यसका लागि निर्देशन पुगेको चर्चा चलेको छ । यसले दुवै पक्षबीच भिडन्तसम्म हुनसक्ने खतरा बढेको छ ।



प्रतिक्रिया दिनुहोस्