केपी ओलीले अब एउटा निकाश दिनुको कुनै विकल्प छैन् : झलनाथ खनाल (भिडिओसहित)

'उखान/टुक्का हाल्ने, ठट्टा गर्ने ओलीको विशेषताहरुले मलाई पनि रमाईलै लाग्छ'


काठमाडौं, २० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपालाई फुटाउन सजिलो नहुने भन्दै पार्टी एक ढिक्का हुने स्पष्ट पारेका छन् । नेता खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दायित्व निर्वाह गर्नै नसकेको पनि गम्भिर आरोप लगाए ।

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले पार्टीको जारी स्थायी कमिटी बैठकमा पनि यही भनेर नेताहरुले ओलीमाथि आलोचना गर्न सुरु गरेको सुनाए । पार्टीको बैठकमा ओलीले आफूविरुद्धको आलोचनासमेत सुन्न नसकिरहेको खनालको टिप्पणी छ । उनले भने,’उहाँले आलोचना सुन्नपनि सकिरहनुभएको छैन् । बैठकमा बस्नपनि सकिरहनुभएको छैन् । यसरी नेतृत्व चल्छ त ? नेतृत्व यसरी चल्दैन नि । चल्न सक्दैन भने जसले नेतृत्व गर्न सक्दैन, उसले ठाउँ छोड्नुपर्छ । पार्टीसँग नेतैनेताहरु छन् । पार्टीसँग विचार भएका नेतैनेताहरु छन् । पार्टी अगाडि बढ्छ । तर, उहाँले सरकारपनि ठीक ढंगले हाँक्न सक्नुभएन । पार्टीलाई पनि ठीक ढंगले सञ्चालन गर्न सक्नुभएन् ।’

नेता खनालले यो धर्तीमा नै निर्विकल्प भन्ने कुरा केहीपनि नभएको जिकिर गरे । उनले कोहीपनि नेताले आफूलाई ठूलो ठान्न नहुने बताए । प्रधानमन्त्री बनेको दिनदेखि नै ओलीले पार्टीमा सरसल्लाह र छलफल नगरेको उनको गुनासो छ । त्यतिमात्रै होईन, हरेक नियुक्तीहरुमा आफ्नो मान्छेलाई मात्रै गरेको र यसबारेमा पनि कुनै छलफल र सरसल्लाह नगरेको खनालको आरोप छ । राजदूत नियुक्तीमा पनि ओलीले गुटको मान्छेलाई भर्ती गरेको र छँदा खाँदाका राजदूतलाई पनि फिर्ता बोलाएर आफ्ना मान्छे राजदूत नियुक्त गरेको उनले आरोप लगाए । ओलीले पार्टीमा ज्यादती र अत्याचार नै गरेको पनि उनको गुनासो छ ।

खनालले ओली पार्टीको सचिवालयमा अल्पमतमा परेको र आफूहरु सचिवालयमा दुई तिहाई बहुमतमा रहेको पनि दाबी गरे । उनले भने, ‘हामी उहाँलाई सचिवालय फेश गर्नुहोस भनिराखेका छौं । सचिवालयमा हामी टु थर्ड मेजोरोटीमा छौं । स्थायी कमिटीमा हामी टु थर्ड मेजोरोटीमा छौं । केन्द्रीय कमिटीमा हामी टु थर्ड मेजोरोटीमा छौं । संसदीय दलमा हामी बहुमतमा छौं । उहाँ के मा फेश गर्न चाहानुहुन्छ ? त्यसमा फेश गर्नुहोस् । तर, सबै ठाउँहरुमा फेश गर्ने हो भने पनि कमरेड केपी ओलीले अब एउटा निकाश दिनुको कुनै विकल्प छैन्  । उहाँले निकास दिनुपर्छ । पार्टीले डिसिजन गर्छ, पार्टीका निर्णयहरुलाई मान्नुपर्छ । अर्को कुनै विकल्प छैन् ।’

उनले नेकपाको वर्तमान केन्द्रीय कमिटीले चाह्यो भने अध्यक्षबाटसमेत ओलीलाई हटाउने सकिने एक हजार प्रतिशत आधार रहेको दाबी गरे । उनले ओलीले पार्टीका नीति तथा सिद्धान्तलाई बेवास्ता गरेर एकलौटी ढंगबाट हिँडेको समेत आरोप लगाए । उनले पार्टीभित्र सहमतिका सम्पूर्ण सिद्धान्त तोड्ने व्यक्ति नै केपी ओली भएको पनि आरोप लगाए ।

उनले यदि ओलीले पार्टीको निर्णय नमान्ने र सहमति तोडेर अघि बढे पार्टी गम्भिर दुर्घटनामा पर्ने र अध्यादेश ल्याएर पार्टी फुटाउने काम गरे कम्युनिष्ट आन्दोलनमा त्यो ठूलो अपराध कर्म अरु केही नहुने पनि उनले तर्क गरे । उनले भने,’त्यस्तो अपराधिक काम गर्ने मान्छेलाई कम्युनिष्ट आन्दोलनले पनि छोड्दैन् । नेपाली जनताले पनि छोड्दैनन् ।’

उनले ओली कुनै विचारको सर्वेसर्वा नभएको बरु हँसीमजाक गर्ने, उखानटुक्का हाल्ने, ठट्टा गर्ने ओलीको विशेषता रहेको खनालले सुनाए । उनले भने, ‘ती विशेषताहरुले मलाई पनि रमाईलै लाग्छ । तर, पार्टीलाई भड्खालोमा हाल्ने खालको कुरा नसोच्नुहोस् । पार्टीलाई विभाजन गर्ने खालको कुरा नसोच्नुहोस् । त्यसले तपाईको भविष्यपनि अन्धकार हुन्छ ।’ उनले आफूहरुले त्यत्रो दुई पार्टी त विघटन गर्न सकेको भन्दै केपी ओली एउटा व्यक्तिलाई कारबाही गर्न सक्दैन् त ? भन्दै उल्टै प्रश्न गरेका छन् ।