Logo

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको काम अगाडि बढ्ने



काठमाडौं, असार २०। नेपाली सेनाले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्न भारतबाट विस्फोटक पदार्थ खरिद गर्न निर्माण कम्पनीलाई सहमति दिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव शर्माले नागढुङ्गा सुरुङ मार्ग निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थ भारतबाट खरिद गर्न निर्माण कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ थापाले सुरुङ मार्ग निर्माण गर्न सडक विभागको समन्वयमा भारतबाट विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाबाट अनुमतिको काम अगाडि बढ्ने स्पष्ट पारे ।

विस्फोटक पदार्थ खरिद गर्न सेनाबाट सहमति नपाउँदा सुरुङ मार्ग निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । निर्माण कम्पनीले भारतबाट विस्फोटक पदार्थ खरिद गर्न गएको असोजदेखि सहमति माग गरेको थियो । सेनाबाट विस्फोटक पदार्थ खरिदको सहमतिसँगै सुरुङ मार्ग निर्माण कार्य अब बिना अवरोध अगाडि बढ्ने सडक विभागले जनाएको छ ।

थापाका अनुसार पहिलो चरणमा तीन सय टन विस्फोटक पदार्थ खरिद गर्न सेनाबाट सहमति प्राप्त भएको हो । उक्त सुरुङ मार्ग निर्माणमा करिब २० करोड रुपियाँ बराबरको नौ सय मेट्रिक टन विस्फोटक पदार्थ आवश्यक देखिएको छ । अबको तीन महिनाभित्र भारतबाट विस्फोटक पदार्थ नेपाल आइपुग्ने उनले बताए ।

महाशाखा प्रमुख थापाले सेनाको सहमतिपछि प्रक्रिया अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखिसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्