Logo

तीन तस्विरमा बस्ती बगाउने पहिरोः १७ घर पुरिए,सात जना बेपत्ता



बझाङ, असार २० । बझाङको केदारस्युँ गाउँपालिका ८ को एक बस्ती नै पहिरोले बगाएको छ।  शुक्रबार राती आएको पहिरोमा परी ७ जना बेपत्ता भएका छन्। पहिरोमा १७ घर पुरिएको स्थानीयवासीले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको यकिन विवरण आउन नसकेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, “पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।” उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिएका छन्।

स्थानीय लोकेन्द्र विकले भने अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र सात जना बेपत्ता भएको जानकारी दिए । केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिङ्गो बस्ती नै पहिरोको चपेटामा परेको जनाएका छन्।

उनका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ । घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ ।



प्रतिक्रिया दिनुहोस्