Logo

छतको पानी खेतमा गएको भन्दै छिमेकीबीच कुटपिट, ९ जना घाइते



रुपन्देही, असार २० । छतबाट बगेको पानी खेतमा गएको भन्दै विवाद हुँदा छिमेकीबीच कुटपिट भएको छ। रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ मधुवनीमा छिमेकीबीच कुटपिट हुँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सुखनी यादवको छतबाट बगेको पानी प्रदीप पटेलको खेतमा गएको विषयमा शुक्रबार साँझ सवा ७ बजे भनाभन हुँदै कुटपिटमा परिणत भएको थियो।

सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहाल हुँदै लठ्ठी र दाउरा प्रहार भएको थियो। घाइते हुनेमा पटेल पक्षका प्रदीप, बोदिक, अजय रीतक पटेर र चन्द्रा भर र यादव पक्षका सुग्रिव, जितेन्द्र, सुखाना र सिसेन्द्र यादव रहेका छन्।

उनीहरुको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ भने उनीहरुमध्ये गम्भीर घाइते चन्द्रा भर र प्रदीप पटेलको आइसीयुमा उपचार भइरहेको छ।

छिमेकीबीचको अन्य तिक्ततासमेत बलेनीमा पोख्दा विवाद बढेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छपिया खटिएको जनाइएको छ।रासस



प्रतिक्रिया दिनुहोस्